कीवर्डहरू -

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिरहाका स्थानीय तह

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिरहाका स्थानीय तह

सिरहा । सिरहाका १७ वटै स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्डको प्रयोग विस्तार हुन थालेको छ । प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालयमा स्मार्ट बोर्ड जडानलाई प्राथमिकता दिन थालिएको हो ।

सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएपछि सरकारी विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा जोड दिइएको शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख शशिकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार सामुदायिक विद्यालयलाई जस्तापातामुक्त भवनसँगै प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ । लहान नगरपालिकाले नगरभित्रका ५९ वटै सामुदायिक विद्यालयमा स्मार्ट डिजिटल बोर्ड विस्तार गर्ने योजना अघि सारेको छ ।

त्यसअन्तर्गत नमुना विद्यालयका भवन निर्माणसँगै स्मार्ट बोर्ड जडानको काम समेत अघि बढाइएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख अमिरीप्रसाद यादवले जानकारी दिनुभयो ।

लहान नगरपालिका १० स्थित श्री जनता माध्यमिक विद्यालयमा दुई वटा स्मार्ट बोर्ड जडानको उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले चालु वर्ष विद्यालयको थप पूर्वाधार विकासमा समेत लगानी गरिने बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीमध्ये शतप्रतिशत दलित तथा विपन्न समुदायका बालबालिका छन् । चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँको लागतमा ढलानसहितको तीनकोठे भवन निर्माण गरी थप स्मार्ट बोर्ड जडान गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

विद्यालयका दाता माधव उपाध्यायले प्रविधिको विकाससँगै शिक्षण विधिमा पनि परिवर्तन आवश्यक रहेको बताउनुभयो । पुरानो समयमा काठको पाटीमा माटोको मसी बनाएर बाँसको कलमले रुखमुनि पढ्नुपरेको स्मरण गर्दै उहाँले सामुदायिक विद्यालयलाई डिजिटल युगअनुकूल बनाउन स्थानीय सरकारले थालेको प्रयास सकारात्मक रहेको धारणा राख्नुभयो ।

नागरिक अगुवा तथा शिक्षाविद् कन्हैया भट्टले नयाँ पाठ्यक्रम निर्माण तथा सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रविधिमैत्री पूर्वाधार आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्री सस्मित पोखरेलले लहानमा जस्तापातामुक्त भवन र प्रविधियुक्त विद्यालय निर्माणका विषयमा गरेको सम्बोधनले सामुदायिक विद्यालय सुधारका लागि सकारात्मक वातावरण बनेको उहाँको भनाइ छ ।

स्मार्ट बोर्डको प्रयोगपछि विद्यार्थीमा विद्यालय र पढाइप्रति आकर्षण बढ्नुका साथै सिकाइ उपलब्धिमा समेत सुधार देखिएको प्रधानाध्यापक देवनलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार प्रविधिको प्रयोगले कक्षाकोठामा पढाइलाई थप अन्तरक्रियात्मक र प्रभावकारी बनाउन सहयोग पुगेको छ ।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक दिनेश महतोका अनुसार लहान, मिर्चैया नगरपालिका र नवराजपुर गाउँपालिकामा अन्य स्थानीय तहको तुलनामा डिजिटल स्मार्ट बोर्डको प्रयोग बढी भइरहेको छ । बाँकी स्थानीय तहमा पनि विद्यालयमा स्मार्ट बोर्ड विस्तार गर्ने विषयमा छलफल र आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तारसँगै भवन, कक्षाकोठा र अन्य शैक्षिक पूर्वाधार सुधारलाई समेत सँगसँगै अघि बढाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।