काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित लगानी पोर्टफोलियोबाट जुलाई महिनामा माइक्रोसफ्ट, एनभिडिया, पालान्टिर, स्पेसएक्स र टेस्लालगायत कम्पनीका सेयरमा ठूलो परिमाणमा खरिद बिक्री भएको विवरण सार्वजनिक भएको छ ।
बीबीसीका अनुसार, सार्वजनिक आधिकारिक वित्तीय विवरणमा ट्रम्पसँग सम्बन्धित खाताबाट जुलाईमा माइक्रोसफ्टका करिब ६५ लाखदेखि ३ करोड १० लाख अमेरिकी डलर मूल्य बराबरका सेयर बिक्री भएको देखिएको छ । सोही अवधिमा माइक्रोसफ्टकै करिब १ लाख ६५ हजारदेखि ४ लाख डलर मूल्यका सेयर खरिद गरिएको विवरणमा उल्लेख छ ।
माइक्रोसफ्टबाहेक कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको प्रमुख कम्पनी एनभिडिया तथा अमेरिकी रक्षा र अध्यागमनसम्बन्धी सरकारी निकायलाई सफ्टवेयर उपलब्ध गराउने पालान्टिरका सेयरमा पनि उल्लेख्य कारोबार भएको पाइएको छ । जुलाईमा मात्रै ट्रम्पसँग सम्बन्धित लगानी पोर्टफोलियोमा एक हजारभन्दा बढी सेयर कारोबार भएको बीबीसीले जनाएको छ ।
सार्वजनिक वित्तीय दस्ताबेजमा एलन मस्कसँग सम्बन्धित कम्पनी स्पेसएक्सका सेयरमा भएको कारोबार पनि समेटिएको छ । रकेट, भूउपग्रह तथा एआई प्रविधिमा काम गर्दै आएको स्पेसएक्सका साथै मस्ककै विद्युतीय सवारीसाधन कम्पनी टेस्लाका सेयर समेत ट्रम्पसँग सम्बन्धित पोर्टफोलियोबाट खरिद बिक्री भएको विवरणमा उल्लेख छ ।
ट्रम्पका लगानीसँग सम्बन्धित कारोबार सार्वजनिक भइरहेका बेला यसले सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्नसमेत उठाएको छ । यद्यपि, ह्वाइट हाउसले ट्रम्पको सेयर तथा बन्ड पोर्टफोलियो स्वतन्त्र तेस्रो पक्षले व्यवस्थापन गर्ने जनाएको छ ।
ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार ट्रम्प वा उनको परिवारका कुनै सदस्यलाई लगानीसम्बन्धी निर्णयमा हस्तक्षेप गर्ने अधिकार छैन । कुन कम्पनीको सेयर कहिले खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय राष्ट्रपतिले स्वयं गर्न नसक्ने भएकाले यसलाई स्वार्थको द्वन्द्वका रूपमा हेर्न नहुने ह्वाइट हाउसको दाबी छ ।
ट्रम्पले जनवरी २०२५ मा पुनः राष्ट्रपतिको पद सम्हालेयता आफ्ना लगानीसँग सम्बन्धित हजारौँ सेयर कारोबार सार्वजनिक भइसकेका छन् । सार्वजनिक विवरणमा स्पेसएक्सका सेयरमा भएको कारोबारसमेत समावेश छ ।
स्पेसएक्सले जुन महिनामा अमेरिकी सेयर बजार नास्डाकमा आफ्ना सेयर सूचीकृत गरेपछि जुलाई र अगस्टमा कम्पनीको सेयर मूल्यमा उल्लेख्य उतारचढाव देखिएको थियो । रिपोर्टअनुसार पछिल्लो समय स्पेसएक्सको सेयर मूल्य प्रारम्भिक सूचीकृत मूल्यभन्दा करिब १४ प्रतिशत माथि रहेको छ ।
यसैगरी, ट्रम्पसँग सम्बन्धित पोर्टफोलियोबाट टेस्लाका सेयरमा पनि कारोबार भएको देखिएको छ । टेस्लाका प्रमुखसमेत रहेका मस्क ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’को नेतृत्व गर्ने भूमिकामा रहेका थिए ।
ट्रम्पको एआई नीतिमाथि बहस
ट्रम्प प्रशासनले एआई विकासमा कडा सरकारी प्रतिबन्ध तथा अतिरिक्त नियमनको पक्षमा नरहेको बताउँदै आएको छ । ट्रम्पले अत्यधिक नियमनका कारण एआई विकासमा अमेरिका चीनभन्दा पछाडि पर्न सक्ने तर्क गर्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्ने क्रममा पनि ट्रम्पले एआईको सम्भावित विकास र ‘सुपर इन्टेलिजेन्स’बारे चर्चा गरेका थिए । उनले एआईको क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।
तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले एआईबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न विश्वव्यापी सुरक्षा मापदण्ड र नियमन आवश्यक रहेको बताउँदै आएका छन् ।
यसरी एकातर्फ ट्रम्प प्रशासनले एआई विकासलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको छ भने अर्कोतर्फ एआईसँग सम्बन्धित सम्भावित जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रियस्तरमा नियमनको माग उठिरहेको छ ।
ट्रम्पसँग सम्बन्धित लगानी पोर्टफोलियोमा एआई तथा प्रविधि क्षेत्रका कम्पनीका सेयरमा भएको कारोबार सार्वजनिक भएसँगै यो विषय फेरि चर्चामा आएको हो ।
आईसीटी समाचार