कीवर्डहरू -

नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा मात्र हेर्न नहुने बताए ।

नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताए । परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार उनले नेपाललाई भूगोल र जनसङ्ख्याका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने धारणा राखेका थिए ।

‘नेपाल सानो होइन । नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,’ उनले भने, ‘हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकांक्षाको सीमा कहिल्यै बन्नु हुँदैन ।’

हालैको बाढीको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले नेपालले प्राकृतिक विपत्ति, कठिन भूगोल र संरचनात्मक चुनौती लामो समयदेखि सामना गर्दै आएको बताए । उनले पछिल्लो विपत्तिलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त तथा छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ ।

मन्त्री खनालले एसियाको उदय नेपालका लागि महत्वपूर्ण अवसर भएको बताए । विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा एसियाको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताए ।

‘हाम्रो प्रश्न अब दुई ठूला छिमेकीबीच नेपाल कसरी बाँच्ने भन्ने होइन । हाम्रो प्रश्न हो- नेपालले उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी मूल्य सिर्जना गर्ने ?’ उनले भने ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता राष्ट्रिय विभूतिका कारण नेपाल एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल रहेको उनको भनाइ थियो । ‘हाम्रा पुर्खाले एउटा स्पष्ट सत्य बुझेका थिए- सम्पर्कले समृद्धि सिर्जना गर्छ, अलगावले गरिबी बढाउँछ,’ मन्त्री खनालले भने ।

नेपालको जलविद्युत् उत्पादन क्षमतालाई क्षेत्रीय आर्थिक रूपान्तरणसँग जोड्न सकिने उल्लेख गर्दै उनले नेपालबाट उत्पादित स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको बताए । सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरी विश्वव्यापी आपूर्ति शृङ्खलालाई नेपालसँग जोड्न सकिने सम्भावना समेत उनले औँल्याए ।

उत्तर छिमेकी चीनसँगको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री खनालले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटी विकासमा जोड दिए ।

नेपालको भविष्य नेपाली जनताले नै निर्धारण गर्ने भएपनि त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए । अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका तथा अन्य साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि स्वागत गर्न नेपाल तयार रहेको उनको भनाइ थियो ।