काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एक एआई एजेन्टले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले घटनाबारे सरकारलाई जानकारी गराउन ओपनएआईले करिब तीन महिना लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग टेलिफोन वार्ता गरेपछि घटनाबारे जानकारी दिएका हुन् । अल्बानिजले अल्टम्यानसँग घटनाबारे स्पष्ट रूपमा कुरा गरेको र अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरेको बताए ।
उनका अनुसार ओपनएआईको एआई एजेन्टले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने मेडिकेयर तथ्यांकसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको थियो । उक्त एजेन्टले सार्वजनिक तथा गैरसार्वजनिक दुवै प्रकारका फाइलमा पहुँच बनाएको बताइएको छ ।
ओपनएआईले अस्ट्रेलियाका सरकारी वेबसाइट तथा सेवासँग सम्बन्धित गतिविधिको आन्तरिक समीक्षा गर्ने क्रममा आफ्ना मोडलले आफूलाई दिइएको निर्देशनभन्दा बाहिरका काम गरेको पत्ता लागेको जनाएको छ ।
कम्पनीका अनुसार अस्ट्रेलियासम्बन्धी सार्वजनिक स्वास्थ्य तथा औषधि खर्चका तथ्यांक खोज्ने क्रममा एआई एजेन्टले केही सरकारी वेबसाइटमा अनधिकृत गतिविधि गरेको थियो ।
ओपनएआईले सेप्टेम्बर १० मा सर्भिसेस अस्ट्रेलियाको सार्वजनिक इमेल ठेगानामा पत्र पठाएर घटनाबारे जानकारी गराएको थियो । त्यसको पाँच दिनपछि सर्भिसेस अस्ट्रेलियाले घटनाबारे अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटको साइबर सुरक्षा केन्द्रलाई जानकारी गराएको थियो ।
प्रधानमन्त्री अल्बानिजले घटनाबारे सरकारलाई ढिलो जानकारी गराइएको र जानकारी दिने तरिका पनि उपयुक्त नभएको बताएका छन् । उनले घटनाको अनुसन्धान गर्न कार्यदल गठन गरिएको जानकारी दिँदै यस क्रममा ओपनएआईको गतिविधि कानुनसम्मत थियो वा थिएन भन्ने विषय समेत हेरिने बताए ।
सरकारका अनुसार हालसम्म कुनै व्यक्तिको व्यक्तिगत मेडिकेयर विवरणमा पहुँच पुगेको प्रमाण भेटिएको छैन । पोर्टलमा मुख्यत: सामूहिक स्वास्थ्य तथ्यांक, औषधि तथा स्वास्थ्य सेवासम्बन्धी तथ्यांक र केही आन्तरिक फाइलका नाम रहेका थिए । ओपनएआईले पनि बिरामीका व्यक्तिगत अभिलेखमा पहुँच पुगेको प्रमाण नभएको जनाएको छ ।
अल्बानिजका अनुसार एआई एजेन्टले अस्ट्रेलियामा औषधिमा भइरहेको सरकारी खर्चसम्बन्धी तथ्यांक खोज्ने क्रममा सुरक्षा अवरोध पार गरेको थियो । अन्य केही सरकारी वेबसाइटमा पनि एआईसम्बन्धी गतिविधि भएको हुन सक्ने बताइएको छ ।
तीमध्ये अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर, न्यु साउथ वेल्स ब्युरो अफ क्राइम स्ट्याटिस्टिक्स एन्ड रिसर्च तथा भिक्टोरियन स्वास्थ्य विभागका वेबसाइट समेत उल्लेख छन् । यद्यपि ती वेबसाइटमा भएको गतिविधि सामान्य र सार्वजनिक सूचनामा सीमित रहेको कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्ल्सले बताएका छन् ।
मार्ल्सले अस्ट्रेलियाली सरकारी सूचना प्रविधि प्रणालीमा एआई एजेन्टले अनधिकृत पहुँच बनाएको घटनालाई गम्भीर विषय भनेका छन् । यद्यपि उनले व्यक्तिगत सूचना चोरी नभएको र सरकारी प्रणालीमा व्यापक क्षति नपुगेको बताएका छन् ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा गठन गरेको कार्यदलमा अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेट, एआई सेफ्टी इन्स्टिच्युट र अन्य सम्बन्धित निकाय सहभागी हुनेछन् ।
कार्यदलले घटना कसरी भयो, सरकारी प्रणालीको सुरक्षा व्यवस्था कस्तो थियो र भविष्यमा यस्ता एआईसम्बन्धी साइबर जोखिमबाट कसरी जोगिने भन्ने विषयमा अध्ययन गर्नेछ ।
ओपनएआईले घटनाको विस्तृत समीक्षा जारी रहेको बताउँदै सम्बन्धित निकायलाई प्राविधिक जानकारी उपलब्ध गराएर सम्भावित सुरक्षा कमजोरी समाधान गर्न सहयोग गरिरहेको जनाएको छ ।
आईसीटी समाचार