वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय युवालाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले फोटोग्राफी तथा भिडियोग्राफी, डिजिटल मार्केटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को युवा उद्यमशीलता तथा आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गर्न लागेको हो । सूचना प्रविधिसम्बन्धी व्यावहारिक सीप विकास गरी युवालाई रोजगारी तथा स्वरोजगारीका अवसरतर्फ आकर्षित गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
तालिममा फोटोग्राफी तथा भिडियोग्राफी, डिजिटल मार्केटिङ र एआईका विभिन्न विषयमा प्रशिक्षण दिइनेछ । तालिम २० दिनसम्म सञ्चालन हुनेछ भने प्रशिक्षण वीरेन्द्रनगर नगरपालिकामै हुनेछ ।
तालिममा सहभागी हुन वीरेन्द्रनगर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । आवेदकले कम्तीमा एसएलसी वा एसईई उत्तीर्ण गरेको वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।
डिजिटल प्रविधि, फोटोग्राफी तथा भिडियोग्राफी र डिजिटल व्यवसायमा रुचि भएका स्थानीय युवालाई तालिममा सहभागी हुन नगरपालिकाले आह्वान गरेको छ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा वीरेन्द्रनगरमा स्थायी बसोबास पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । बसोबास प्रमाणित गर्न नागरिकता, बसाइँसराइ प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिसमध्ये कुनै कागजात पेस गर्न सकिनेछ ।
इच्छुकले नगरपालिकाले उपलब्ध गराएको गुगल फाराम वा सूचनामा राखिएको क्यूआर कोड स्क्यान गरी अनलाइन आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले तालिमसम्बन्धी सूचना असोज १ गते प्रकाशित गरेको हो । तालिम तथा आवेदनसम्बन्धी थप जानकारीका लागि कार्यालय समयमा वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
आईसीटी समाचार