काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘#VisitNepal’ अभियान सुरु गरेको छ । नोभेम्बर ६ (कात्तिक २०) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो ।
टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु अभियानको उद्देश्य रहेको छ ।
अभियानअन्तर्गत टिकटकले युरोप, मिडल ईस्ट, साउथ ईस्ट एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरी आफ्ना अनुभव विश्वभरका दर्शकमाझ साझा गरिरहेका छन् ।
यसबाट नेपालका चर्चित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका सुन्दर स्थानहरूको समेत अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । पर्यटनसम्बन्धी सामग्रीको पहुँच र दर्शकको सहभागिता बढाउन टिकटकले छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेज पनि सञ्चालनमा ल्याएको छ ।
टिकटकको कोल्याब फिचरमार्फत नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय क्रिएटरसँग सहकार्य गरी नेपालको पर्यटनलाई स्थानीय दृष्टिकोणबाट प्रस्तुत गरिरहेको छ ।
यसैगरी, लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिमसमेत सञ्चालन गरिएको छ । यसबाट विश्वभरका मानिसले भर्चुअल रूपमा नेपालको अनुभव लिनुका साथै भविष्यमा भ्रमण गर्न चाहेका स्थानबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी भएका थिए । उनले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यबारे जानकारी लिने तरिकामा परिवर्तन ल्याएको बताउँदै टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहेको बताए ।
उनले एउटा कथाले यात्राका लागि प्रेरित गर्न, एउटा यात्राले अवसर सिर्जना गर्न र एउटा अवसरले समग्र समुदायको रूपान्तरण गर्न सक्ने धारणा राखे । टिकटकका मिडल ईस्ट, युरेसिया तथा अफ्रिका (एमईए) क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वभरका दर्शकमाझ पुर्याउन सहयोग गर्ने बताए ।
उनका अनुसार यस अभियानले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्नुका साथै नेपाली क्रिएटरलाई सशक्त बनाउने, साना व्यवसायलाई सहयोग गर्ने र डिजिटल अर्थतन्त्रबाट सर्वसाधारणले लाभ लिन सक्ने अवसर सिर्जना गर्नेछ ।
नेपाल पर्यटन बोर्डसँग टिकटकको यो अभियान यसअघिको सहकार्यकै निरन्तरता हो । यसअघि डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशालामार्फत ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा क्रिएटरलाई तालिम प्रदान गरिएको थियो ।
नेपाल सरकार, निजी क्षेत्र, सञ्चार माध्यमका साझेदार र क्रिएटर समुदायको सहभागितामा नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो ।
आईसीटी समाचार