काठमाडौं । गुगल खाता जिमेल, गुगल ड्राइभ, गुगल डक्स, गुगल फोटो तथा गुगल प्ले स्टोरलगायत विभिन्न सेवासँग जोडिएको हुन्छ । एउटै खातामार्फत यी सेवामा पहुँच पाउन सकिने भएकाले गुगल खाताको सुरक्षा निकै महत्वपूर्ण हुन्छ ।
खातामा रहेका व्यक्तिगत विवरण, फाइल तथा भुक्तानीसम्बन्धी जानकारी सुरक्षित राख्न दुई तहको प्रमाणीकरण (2-Step Verification) सक्रिय गर्न सकिन्छ । यसले सामान्य पासवर्डसँगै अतिरिक्त सुरक्षा तह थप गर्छ ।
दुई तहको प्रमाणीकरण सक्रिय गरेपछि पासवर्ड चोरी भएमा वा अन्य व्यक्तिको हातमा पुगेमा पनि अतिरिक्त प्रमाणीकरण पूरा नगरी खातामा प्रवेश गर्न सकिँदैन । यसले गुगल खातामा हुने अनधिकृत पहुँचको जोखिम कम गर्न मद्दत गर्छ ।
गुगल खातामा दुई तहको प्रमाणीकरण कसरी सक्रिय गर्ने ?
१. कम्प्युटर वा मोबाइलमा गुगल क्रोम अथवा आफूले प्रयोग गर्ने अन्य ब्राउजर खोल्नुहोस् ।
२. आफ्नो गुगल प्रोफाइल फोटोमा क्लिक वा ट्याप गरी Manage your Google Account मा जानुहोस् ।
३. बायाँपट्टि रहेको Security & Sign-in विकल्प खोल्नुहोस् ।
४. How you sign in to Google भन्ने भागमा गएर 2-Step Verification विकल्प छान्नुहोस् ।
५. आफ्नो गुगल खाताको पासवर्ड प्रविष्ट गर्नुहोस् ।
६. अब गुगलले उपलब्ध गराएका प्रमाणीकरणका विकल्पमध्ये आफूलाई उपयुक्त विधि छनोट गर्नुहोस् । यसमा पासकी, Google Prompt, Authenticator App, फोन नम्बर वा Backup Codes जस्ता विकल्प हुन सक्छन् ।
७. छनोट गरेको सुरक्षा विधिअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुहोस् । प्रक्रिया पूरा भएपछि गुगल खातामा दुई तहको प्रमाणीकरण सक्रिय हुनेछ ।
दुई तहको प्रमाणीकरण सक्रिय गरेपछि गुगल खातामा लगइन गर्दा पासवर्डसँगै अतिरिक्त प्रमाणीकरण आवश्यक पर्न सक्छ । त्यसैले पासवर्ड अरू कसैको हातमा परे पनि खातालाई थप सुरक्षित राख्न यो सुविधा उपयोगी हुन्छ ।
आईसीटी समाचार