काठमाडौं । डिजिटल वालेट खल्तीको कर्मचारी भएको भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफूलाई खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए ।
उनीहरूले ‘तपाईंको केवाईसी (ग्राहक पहिचान विवरण) अपडेट गर्नुपर्नेछ, अन्यथा वालेट बन्द हुन्छ’, ‘बैंक खाता वालेटमा लिंक गरिदिन्छु’, ‘व्यावसायिक खातामा रकम प्राप्त हुँदा सूचना दिने ई-स्पिकर उपलब्ध गराइदिन्छु’ तथा ‘फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाइदिन्छु’ जस्ता प्रलोभन देखाएर विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।
यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई अडियो तथा भिडियो कलमार्फत विश्वासमा लिएर मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र ओटीपी (एकपटक प्रयोग हुने पासवर्ड) समेत प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार