कीवर्डहरू -

एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा

एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा

काठमाडौं । सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ताले आफूलाई मन परेको पोस्टका सर्जकलाई लाइक बटन थिचेरै आर्थिक सहयोग गर्न सक्ने सुविधा आउने भएको छ । एक्सका मालिक एलन मस्कले लाइक बटन केही समयसम्म थिचेर राख्दा एक डलर पठाउन सकिने विकल्प ल्याउने योजना सार्वजनिक गरेका हुन् ।

प्रस्तावित सुविधाअनुसार प्रयोगकर्ताले कुनै पोस्टमा लाइक बटन लामो समयसम्म थिचेर राखेपछि एक्स मनीमार्फत एक डलर पठाउन सक्नेछन् । यसले प्रयोगकर्तालाई आफूले रुचाएको सामाग्री सिर्जना गर्ने व्यक्तिलाई सोझै आर्थिक सहयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ । साथै, छुट्टै भुक्तानी सेवा प्रयोग नगरी एक्सकै माध्यमबाट रकम पठाउन सकिने अवधारणा अघि सारिएको छ ।

यद्यपि, यो सुविधा कहिलेदेखि सञ्चालनमा आउने, कसले यसको प्रयोग गर्न पाउने र रकम पठाउनका लागि के–कस्ता सर्त लागू हुने भन्ने विषयमा कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।

एक्सले आफ्नो डिजिटल भुक्तानी सेवा ‘एक्स मनी’ पनि विस्तार गरिरहेको छ । यसको व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा अमेरिकामा उपलब्ध गराइएको छ भने कम्पनीले भिसा डेबिट कार्डको सुविधा पनि ल्याएको छ ।

लाइक बटनमार्फत रकम पठाउन सकिने प्रस्ताव एक्सलाई सामाजिक सञ्जालमा मात्र सीमित नराखी सन्देश आदानप्रदान, डिजिटल भुक्तानीलगायत विभिन्न सेवा एउटै प्लेटफर्ममा उपलब्ध गराउने मस्कको योजनासँग जोडिएको छ ।

यस्तो सुविधा कार्यान्वयनमा आएमा सामाग्री सर्जकले आफ्ना दर्शक तथा फलोअरबाट प्रत्यक्ष आर्थिक सहयोग प्राप्त गर्ने अर्को माध्यम पाउन सक्नेछन् ।