कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यको छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यको छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढेको छ । आवेदन संकलन र प्रारम्भिक सूची सार्वजनिक गरेको करिब डेढ महिनापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अध्यक्ष पदका लागि आवेदन दिएका ३२ जनामध्ये प्रारम्भिक मूल्याङ्कनपछि ९ जना उम्मेदवारलाई मात्रै अन्तिम प्रतिस्पर्धाका लागि सङ्क्षिप्त सूचीमा समावेश गरिएको छ ।

अन्तर्वार्ताका लागि छनोट हुनेहरूमा अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधुसूदन दाहाल, सनाउल्लाह खान, राजिब सुब्बा र सुशील प्रसाद साह रहेका छन् ।

मन्त्रालयले ती उम्मेदवारलाई असार २४ गते व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुन आह्वान गरेको छ । प्रत्येक उम्मेदवारले आफूलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित भई कार्ययोजनाको सफ्टकपी तथा आवेदनसँग पेश गरिएका सम्पूर्ण कागजातहरूको सक्कल प्रति बुझाउनुपर्नेछ ।

त्यस्तै, कार्यानुभवको आधारमा आवेदन दिएका उम्मेदवारले सम्बन्धित रोजगारदाता निकायबाट जारी गरिएको अनुभवको सक्कल प्रमाणपत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परेपनि पूर्वनिर्धारित कार्यक्रम परिवर्तन नहुने र तोकिएकै तालिकाअनुसार सञ्चालन गरिनेछ । सरकारले गत वैशाखमा अध्यक्ष तथा सदस्य पदका लागि दरखास्त आह्वान गरेको थियो । अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढ्नेछ ।

null