कीवर्डहरू -

साइबर सुरक्षा घटनापछि पठाओको सेवा प्रभावित, सतर्क रहन आग्रह

साइबर सुरक्षा घटनापछि पठाओको सेवा प्रभावित, सतर्क रहन आग्रह

काठमाडौं । राइड शेयरिङ तथा डेलिभरी सेवा प्रदायक पठाओले पछिल्लो समय आफ्नो प्लेटफर्ममा देखिएको सेवा अवरोध साइबर सुरक्षासम्बन्धी घटनाका कारण भएको स्पष्ट पारेको छ ।

पठाओको प्रणाली ह्याक भएको र आक्रमणकारीले फिरौती मागेको भन्ने चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला कम्पनीले आधिकारिक वक्तव्य जारी गर्दै घटनाबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार गत आइतबार प्लेटफर्मका विभिन्न सेवामा प्राविधिक समस्या देखिएपछि तत्काल साइबर सुरक्षा घटनाको पहिचान गरिएको थियो । घटना पत्ता लागेपछि थप क्षति हुन नदिन कम्पनीले आफ्ना केही प्रणाली अस्थायी रूपमा बन्द गरी आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय अपनाएको जनाएको छ ।

पठाओले केही समयमै सेवा पुनः सञ्चालन गरेपनि प्रणालीलाई पूर्ण रूपमा स्थिर र सुरक्षित बनाउने काम जारी रहेको जनाएको छ । त्यसका कारण आगामी दिनमा पनि प्रयोगकर्ताले कहिले काहीँ प्राविधिक समस्या सामना गर्न सक्ने कम्पनीको भनाइ छ ।

घटनापछि सुरक्षा जोखिम नियन्त्रण गर्न आवश्यक कदम चालिएको र प्रणालीको सुरक्षा थप मजबुत बनाउन बाह्य साइबर सुरक्षा विशेषज्ञहरूको सहयोग लिइरहेको पठाओले जनाएको छ ।

प्रयोगकर्तालाई शंकास्पद सम्पर्कबाट सावधान रहन आग्रह
पठाओले साइबर सुरक्षा घटनाका क्रममा ग्राहकसँग सम्बन्धित केही सीमित जानकारीमा अनधिकृत व्यक्तिको पहुँच पुगेको हुन सक्ने सम्भावना रहेको जनाएको छ । यद्यपि, कम्पनीले त्यस्तो पहुँचको प्रकृति र दायराबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै कम्पनीले पठाओको नाम प्रयोग गरेर आउने शंकास्पद फोन, सन्देश तथा इन्टरनेटका लिङ्कबाट सावधान रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।

कम्पनीले प्रयोगकर्तालाई कुनै पनि अवस्थामा पासवर्ड, पिन, ओटीपीलगायतका गोप्य विवरण अरू कसैसँग साझा नगर्न सुझाव दिएको छ । घटनासम्बन्धी आधिकारिक सूचना तथा आवश्यक निर्देशन पठाओका आधिकारिक माध्यमबाट मात्रै सार्वजनिक गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।

null