कीवर्डहरू -

हिमालयमा विपद् जोखिम न्यूनीकरण गर्न डिजिटल प्रणाली आवश्यक : विज्ञ बसन्तराज श्रेष्ठ

हिमालयमा विपद् जोखिम न्यूनीकरण गर्न डिजिटल प्रणाली आवश्यक : विज्ञ बसन्तराज श्रेष्ठ

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढ्दै गएको छ । डिजिटल नेपाल कन्क्लेभ २०२६ मा वरिष्ठ वातावरण तथा प्रविधि विज्ञ बसन्तराज श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र हुनुका साथै हिमताल विस्फोट, हिमपहिरो र बाढीजस्ता विपद्को जोखिम बढ्दै गएको बताएका हुन् ।

‘डिजिटल रेजिलियन्स फर क्लाइमेट एन्ड डिजास्टर्स’ विषयमा प्रस्तुति दिँदै श्रेष्ठले रसुवा-भोटेकोशी क्षेत्रमा हालै देखिएको विपद्ले हिमालय क्षेत्रमा बदलिँदो विपद् जोखिमको अवस्थालाई स्पष्ट पारेको बताए । उनका अनुसार बढ्दो तापक्रमका कारण हिमनदीहरू पातलिँदै गएका छन् भने नयाँ हिमताल बन्ने क्रम पनि बढिरहेको छ । यसले हिमपहिरो तथा बाढीको जोखिम थप बढाएको उनले बताए ।

हिमनदीमा भइरहेको परिवर्तनबारे चर्चा गर्दै श्रेष्ठले सन् २०१० को दशकमा अघिल्लो दशकको तुलनामा हिमनदी पग्लिने गति ६५ प्रतिशतले बढेको बताए । हालकै प्रदूषणको अवस्था कायम रहे सन् २१०० सम्म हिमालय क्षेत्रमा हिमनदीको आयतन ८० प्रतिशतसम्म घट्न सक्ने अनुमान रहेको पनि उनले उल्लेख गरे ।

विपद्को जोखिम पहिचान र न्यूनीकरणका लागि सेन्सर, तथ्यांक, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि तथा पूर्वानुमान प्रणालीको प्रयोग बढाउनुपर्नेमा श्रेष्ठले जोड दिए । उनका अनुसार अब विपद्को चेतावनी दिने प्रणाली मात्र पर्याप्त छैन । चेतावनी प्राप्त भएपछि तत्काल कसले, कहाँ र के गर्ने भन्ने स्पष्ट कार्ययोजनासहितको प्रणाली पनि विकास गर्न आवश्यक छ ।

रसुवा-त्रिशूली क्षेत्रमा हालै आएको विपद्बाट पाठ सिक्दै भविष्यमा ठूला विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र आवश्यक व्यवस्थापन गर्नुपर्ने उनले बताए । साथै, हिमालय क्षेत्रमा विपद्को जोखिमबारे समयमै जानकारी उपलब्ध गराउने प्रभावकारी डिजिटल प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।