कीवर्डहरू -

विज्ञान प्रविधि क्षेत्रमा नयाँ नियमावलीको तयारी, मन्त्रालयद्वारा सुझाव माग

विज्ञान प्रविधि क्षेत्रमा नयाँ नियमावलीको तयारी, मन्त्रालयद्वारा सुझाव माग

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत नियमावलीको मस्यौदा सार्वजनिक गरेका हुन् ।

उनले नियमावलीलाई थप प्रभावकारी बनाउन इच्छुक व्यक्ति, संस्था तथा सरोकारवालालाई आफ्ना सुझाव पठाउन आग्रह गरेका छन् । मन्त्रालयका अनुसार सुझाव आगामी सोमबारसम्म [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ । प्राप्त सुझावमध्ये उपयोगी तथा रचनात्मक सुझावलाई नियमावलीको अन्तिम मस्यौदामा समेटिने मन्त्री पुनले बताएका छन् ।

यो नियमावलीको मस्यौदा मन्त्रालयले हालै तयार पारेको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई आधार बनाएर तयार गरिएको हो । तर, उक्त विधेयक समेत अहिले सुझाव सङ्कलन तथा परिमार्जनकै प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत साउन २५ गते सूचना जारी गर्दै विधेयकमाथि सर्वसाधारणबाट एक साताभित्र राय तथा सुझाव मागेको थियो । त्यससँगै सम्बन्धित मन्त्रालय तथा विभिन्न निकायबाट समेत सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता एवम् सहसचिव शैलेन्द्र कुमार झाले जानकारी दिए ।

झाका अनुसार विधेयकको मस्यौदा कानुन मन्त्रालयमा पठाउँदा त्यससँग सम्बन्धित नियमावलीको प्रारम्भिक मस्यौदासमेत आवश्यक पर्ने भएकाले मन्त्रालयले पूर्वतयारीस्वरूप नियमावलीमाथि सुझाव मागेको हो ।

उनले संघीय संसदबाट विधेयक पारित भएर ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन’ जारी भएपछि मात्र नियमावलीले कानुनी स्वरूप प्राप्त गर्ने र कार्यान्वयनमा जाने स्पष्ट पारे ।
मन्त्रालयले विधेयक र नियमावलीलाई थप व्यवहारिक तथा प्रभावकारी बनाउन सरोकारवालाको सुझावलाई महत्त्व दिएको जनाएको छ ।