काठमाडौं । जापानमा बसेर इन्टरनेट र मोबाइल कम्युनिकेशनमा सफल अनुसन्धाताको पगरी पाएका नेपाली हुन्, डा. वेदप्रसाद काफ्ले।
भारतबाट स्नातकमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्समा बीई इन्जिनियरिङ गरेका काफ्लेले दक्षिण कोरियाबाट कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
कोरियामा मास्टर्स सकेपछि काफ्लेलाई सामसङ कम्पनीले भारतमा सामसुङको बजार प्रमुख भएर काम गर्न प्रस्ताव राखेको थियो । तर, मार्केटिङमा कम र पढ्ने, पढाउने कार्यमा बढ्ता रूचि राख्ने काफ्ले धैरै तलबको पछि लागेनन् । उनलाई भित्रैदेखि कम्प्युटर र कम्युनिकेशन नेटवर्कसम्बन्धी अनुसन्धान गर्ने धोको थियो ।
पछि जापानबाट इन्फर्मेटिक्समा पिएचडी गरेसँगै उनले मोबाइल कम्युनिकेसनमा ५० भन्दा बढी अनुसन्धान गरे । उनले नेक्स्ट जेनेरेशन नेटवर्क, फ्युचर नेटवर्कलगायतका आइटियुका पोलिसीमा सम्पादन तथा सुझाव योगदान गरेका छन् । आइइइई, आइइआइसिई, इन्टरनेट मिडिया सोसाइटी, नेपाल इन्जिनियरिङ काउन्सिल, नेपाल इन्जिनियरिङ एशोसिएसनमा समेत सक्रिय सहभागी एवं लाइफ मेम्बर बनेका उनी थुप्रै अन्तर्राष्ट्रिय आइटी कम्युनिटीमा समेत छन् ।
हाल उनको परिचय हो, जापानस्थित नेश्नल इन्स्टिच्युट अफ इन्फार्मेशन टेक्नोलोजी (एनआइसिटी) का अनुन्धान प्रबन्धक हुन् । ‘मेरो रिसर्च भनेको फ्युचर इन्टरनेट बनाउने हो । आजको इन्टरनेटभन्दा पनि कसरी समृद्ध इन्टरनेट बनाउने भनेर मैले अनुसन्धान गर्दैछु । अहिलेको इन्टनेटमा सेक्युरिटी र म्यानेजमेन्ट राम्रोसँग नभइरहेको हामीलाई राम्रैसँग थाहा छ । त्यस्तै अप्टिकल फाइबरमा धेरै च्यानल पठाएर धेरै डाटा पठाउन सकिनेबारे बृहत् अनुसन्धान गरिरहेको छु भने स्ट्यान्डराइजेशन मेरो अर्को काम हो,’ उनले भने ।
भारतबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्युनिकेसनमा बिई सकेपछि नेपालमै कम्प्युटर क्षेत्रमा काम गर्न थाले । त्यसपछि विस्तारै कम्प्युटर र नेटवर्किङमा उनको रूची बढ्न थालेको थियो । आफ्नो अध्ययनलाई निरन्तरता दिने योजना अनुसार मास्टर्सका लागि दक्षिण कोरियाको साउल नेसनल युनिभर्सिटी एप्लाई गरे । कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा अध्ययन सकाए ।
मास्टर्स पढ्दै गर्दा उनलाई रिसर्चमा रूचि बढिसकेको थियो । पीएचडी गरेर आफ्नो अनुसन्धानको रूची अझै अगाडि बढाउने निर्णय गरे । त्यसपछि जापानको ग्राजुएट युनिभर्सिटी फर एडभान्स स्टडिजबाट इन्फर्म्याटिक्समा पीएचडी गरे । ३ वर्षमा पिएचडी सके । त्यतिबेला नेपालमा राम्रो जागिर नभएकाले आउने, नआउने दोधारमै भएको बेला जापानकै सरकारको रिसर्च इन्स्टिच्युट एनआइटिसीमा आकर्षक जागिर मिल्यो ।

कामप्रतिको उत्कट लगानी र मेहेनतकै कारण उनलाई सो संस्थामा स्थायी जागिरेको पत्र दियो र विभिन्न अन्तर्राष्ट्रिय संस्थामा रहेर यो क्षेत्रलाई योगदान दिने अवसर उनले पाइरहेका छन् । 'मास्टर्समा पढ्दै गर्दा नै मलाई मोबाइल इन्टरनेटमा अनुसन्धान गर्ने रुची थियो । त्यतिबेला हामीसँग टुजी मोबाइल इन्टरनेट थियो । तर थ्रिजी, फोरजी, फाइभजी आउँदा त्यसमा इन्टरनेटको सुविधा दिन के कस्तो प्रविधिको प्रयोग गर्नुपर्छ भनेर मैले पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र बुझाए,' उनले भने, ‘पिएचडीमा मैले मोबाइल एक ठाउँबाट अर्कोमा लैजान सर्भिस कन्ट्युनिटी गर्न चाहिने विभिन्न प्रविधिहरूको डिजाइन र मूल्याकंन गर्ने र कम्पनीहरूलाई सेल्स गर्ने खालको अनुसन्धान गरे । पिएचडीपछिका रिसर्चमा पनि ५० प्रतिशत मोबिलिटी म्यानेजमेन्टसँग सम्बन्धित रिसर्च नै छन् ।’
नेटवर्क आर्किटेक्ट, बियोन्ड फाइभजी नेटवर्क, इन्टरनेट अफ थिङ्स, इन्फर्मेसन सेन्ट्रिक नेटवर्क, नेटवर्क फङ्सन भिजुअलाइजेसन, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ, मेसिन लर्निङ, एआई, डेटा साइन्स, साइबर सेक्युरिटी लगायत अनुसन्धान गर्ने रूची क्षेत्र भित्र पर्छन् । उनले अहिलेसम्म १३० भन्दा बढी रिसर्च पेपरहरू जर्नल, म्यागजिन र कन्फेरेन्समा प्रकाशित भइसकेका छन् । उनीसँग १२ वटा प्याटेन्स समेत रहेका छन् । काफ्लेले जापानमा अध्यापन समेत गराउँदै आएका छन् ।
काफ्लेको अनुसन्धान नेपालको दूरसञ्चार क्षेत्रले पनि केही सिक्न सक्छ । उनी आफै पनि नेपालसँग जोडिएर आफ्नो ज्ञान र सीपलाई हस्तान्तरण गर्न अनवरत लागिरहेका छन् । आईटीयु एशोसिएसनको इन्करेजमेन्ट अवार्ड, अकम्पिलिसमेन्ट अवार्ड, नेपाली डायस्पोरा अवार्ड, बेस्ट पेपर अवार्ड जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट काफ्ले सम्मानित भइसकेका छन् ।
स्नेहा झा