कीवर्डहरू -

एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएको स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन् । उनको राजीनामा नोभेम्बर ४ देखि नै लागू भएको हो ।

रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई आफ्नो राजीनामाबारे जानकारी गराएका थिए । कम्पनीले भने उनको बहिर्गमन सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको स्पष्ट पारेको छ ।

यद्यपि, स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले भने गुगलको मातृ कम्पनी अल्फाबेटसँग बढ्दो स्वार्थको द्वन्द्वका कारण ह्यारिसनले बोर्ड छाडेको बताएका छन् ।

मस्कले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत ह्यारिसनलाई राम्रो बोर्ड सदस्यको संज्ञा दिँदै स्पेसएक्समा उनले पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए । साथै, अल्फाबेटसँग विभिन्न विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने अवस्था बनेकाले उनले पद त्यागेको मस्कको भनाइ थियो ।

ह्यारिसन गुगलमा लामो समयदेखि कार्यरत छन् । उनी हाल गुगलको विश्वव्यापी साझेदारी तथा कर्पोरेट विकास विभागका अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । लन्डन स्टक एक्सचेन्ज ग्रुप (एलएसईजी) को तथ्यांकअनुसार गुगलको मातृ कम्पनी अल्फाबेट स्पेसएक्सको सबैभन्दा ठूलो एकल संस्थागत सेयरधनी समेत हो ।

यसैबीच, गुगलले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्पेसएक्समा उसको सेयर स्वामित्व पनि बढेको छ । यसअघि ५५ करोड १२ लाख कित्ता रहेको सेयर संख्या बढेर करिब ५५ करोड ५० लाख कित्ता पुगेको छ ।

पछिल्लो समय गुगल र स्पेसएक्स दुवै कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार तथा प्रविधि विकासमा सक्रिय छन् । यस्तो अवस्थामा अल्फाबेटको लगानी रहेको कम्पनीको सञ्चालक समितिबाट गुगलका वरिष्ठ कार्यकारी बाहिरिनुलाई दुई प्रविधि कम्पनीबीचको सम्बन्ध र सम्भावित प्रतिस्पर्धाका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।