कीवर्डहरू -

ब्लुटुथको डेटा ट्रान्सफर गति झन्डै चार गुणा बढ्ने, नयाँ प्रविधि २०२७ देखि बजारमा आउने

ब्लुटुथको डेटा ट्रान्सफर गति झन्डै चार गुणा बढ्ने, नयाँ प्रविधि २०२७ देखि बजारमा आउने

काठमाडौं । ब्लुटुथ प्रविधिमार्फत डेटा आदानप्रदान गर्ने गति अब झन्डै चार गुणाले बढ्ने भएको छ। ब्लुटुथ प्रविधिको मापदण्ड निर्धारण गर्ने संस्था ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप (एसआईजी) ले ‘हाई डाटा थ्रुपुट’ (एचडीटी) नामक नयाँ प्रविधिलाई स्वीकृति दिएसँगै ब्लुटुथ प्रयोगकर्ताले थप तीव्र गतिमा डेटा स्थानान्तरण गर्न पाउने भएका हुन् ।

नयाँ प्रविधि लागू भएपछि ब्लुटुथ लो इनर्जी (एलई) मार्फत डेटा स्थानान्तरणको अधिकतम गति प्रतिसेकेन्ड २ मेगाबिटबाट बढेर ७.५ मेगाबिट पुग्नेछ । यससँगै हालको तुलनामा करिब चार गुणा छिटो डेटा आदानप्रदान गर्न सकिनेछ ।

एचडीटीलाई नयाँ ब्लुटुथ कोर ७.० मापदण्डमा वैकल्पिक सुविधाका रूपमा समावेश गरिएको छ । त्यसैले उपकरण निर्माता कम्पनीहरूले आफ्ना उत्पादनमा यो प्रविधि अनिवार्य रूपमा समावेश गर्नुपर्ने छैन ।

नयाँ प्रविधिको प्रभाव विशेष गरी वायरलेस अडियो उपकरणमा देखिने अपेक्षा गरिएको छ । ब्लुटुथ एसआईजीका अनुसार एचडीटीमा आधारित उच्च गुणस्तरको वायरलेस अडियो मापदण्ड सन् २०२७ मा सार्वजनिक हुन सक्नेछ । यसबाट ध्वनिको गुणस्तरमा कमी नआउने अडियो, उच्च रिजोल्युसन ध्वनि, मल्टिच्यानल सराउन्ड साउन्ड तथा स्पेसियल अडियो प्रसारण गर्न सम्भव हुनेछ ।

एचडीटी प्रविधि समावेश भएका पहिलो उपकरण सन् २०२७ को सुरुवातदेखि बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । जनवरीमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा समेत यस्ता उपकरण सार्वजनिक हुन सक्ने सम्भावना छ ।

नयाँ प्रविधिले सिग्नल प्रसारणको उन्नत विधि प्रयोग गर्ने भएकाले एकैपटक धेरै डेटा पठाउन सकिनेछ । यसले प्रतिसेकेन्ड २, ३, ४, ६ र ७.५ मेगाबिटका विभिन्न गति समर्थन गर्छ । सिग्नल कमजोर भएको अवस्थामा कनेक्सन अवरुद्ध हुन नदिन उपकरणले स्वत: डेटा स्थानान्तरणको गति घटाउन सक्नेछन् ।

यस प्रविधिको अर्को महत्त्वपूर्ण विशेषता ऊर्जा खपतसँग सम्बन्धित छ । द टेलिग्राफका अनुसार डेटा स्थानान्तरणको गति बढे पनि ब्याट्रीको आयुमा नकारात्मक असर नपर्ने अपेक्षा गरिएको छ । डेटा छिटो पठाउन सकिने भएकाले उपकरणले उच्च ऊर्जा खपत हुने अवस्थामा कम समय बिताउनुपर्ने हुन्छ, जसले समग्र ऊर्जा बचतमा सहयोग पुर्‍याउन सक्छ ।

प्रारम्भिक परीक्षणमा केही मेगाबाइट आकारको फाइल स्थानान्तरण गर्न करिब चार सेकेन्ड मात्र लागेको थियो । हालको ब्लुटुथ प्रविधिबाट सोही फाइल पठाउन करिब १६ सेकेन्ड लाग्ने गरेको छ ।

एचडीटीले डेटा सुरक्षालाई समेत थप बलियो बनाउनेछ । नयाँ प्रविधिमा सन्देशको सत्यता प्रमाणित गर्ने कोडको लम्बाइ ३२ बिटबाट बढाएर ६४ र १२८ बिटसम्म पुर्‍याइनेछ । यसले डेटा आदानप्रदानलाई थप सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

हेडफोन र स्पिकरमा मात्र सीमित नभई एचडीटी प्रविधि अग्मेन्टेड रियालिटी (एआर) उपकरण, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित डिभाइस, औद्योगिक प्रणाली, स्मार्टवाच, फिटनेस ब्रेसलेट तथा स्मार्ट होम उपकरणमा समेत उपयोगी हुने देखिएको छ ।

उदाहरणका लागि, स्मार्टवाचले लामो समयसम्म रेकर्ड गरेको व्यायामसम्बन्धी विवरण केही सेकेन्डमै मोबाइल फोनमा पठाउन सक्नेछ । त्यसैगरी, स्मार्ट चस्माले डेटा प्रशोधनका लागि अन्य उपकरणमा सूचना छिटो पठाउन सक्ने भएकाले थप उन्नत एआई सुविधाको प्रयोग सहज हुनेछ ।

यद्यपि, एचडीटीको अधिकतम गति प्राप्त गर्न डेटा पठाउने र प्राप्त गर्ने दुवै उपकरणले यो प्रविधि समर्थन गर्नुपर्नेछ । कुनै एक उपकरणमा मात्र एचडीटी सुविधा भएमा पनि ब्लुटुथ कनेक्सन कायम रहनेछ, तर डेटा आदानप्रदान भने हाल उपलब्ध ब्लुटुथ एलई मापदण्डअनुसार नै हुनेछ ।

ब्लुटुथ एसआईजीमा विश्वभरका ४३ हजारभन्दा बढी कम्पनी सदस्यका रूपमा आबद्ध छन् । यी कम्पनीहरूले हरेक वर्ष ब्लुटुथ प्रविधियुक्त पाँच अर्बभन्दा बढी उपकरण उत्पादन गर्दै आएका छन् ।