काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले ११ अर्ब अमेरिकी डलरको नयाँ लगानी जुटाएको छ । कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर कायम गरिएको यस लगानी चरणको यो पहिलो हिस्सा भएको यस विषयमा जानकार एक स्रोतले शुक्रबार जानकारी दिएको छ ।
ओपनएआईले सुरुमा ३० अर्ब डलरसम्म लगानी जुटाउने लक्ष्य राखेको थियो । हाल प्राप्त ११ अर्ब डलर उक्त लक्ष्यको एक हिस्सा मात्र हो । यसैबीच, कम्पनीको मूल्यांकन पनि प्रारम्भिक लक्ष्य १.५ ट्रिलियन डलरबाट घटेर १.२५ ट्रिलियन डलरमा झरेको दुई लगानीकर्ताले बताएका छन् ।
यस लगानी चरणमा जापानी लगानी कम्पनी सफ्टबैंक र लगानी संस्था एमजीएक्सले समेत सहभागिता जनाएका छन् । यसअघि ब्लुमबर्ग न्युजले पनि शुक्रबार नै ओपनएआईको नयाँ लगानीसम्बन्धी समाचार सार्वजनिक गरेको थियो ।
रोयटर्सका अनुसार पछिल्लो एक महिनायता एआई कम्पनीहरूमा लगानीकर्ताको आकर्षण केही कमजोर देखिएको छ । यसैबीच, ओपनएआईको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकको प्रस्तावित प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि केही लगानीकर्ताले करिब १.५ ट्रिलियन डलर मूल्यांकन गरेका छन् । यो यसअघि अनुमान गरिएको करिब २ ट्रिलियन डलरभन्दा कम हो ।
एआई क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढिरहेका बेला ओपनएआईले जुटाएको पछिल्लो लगानी र कम्पनीको मूल्यांकनमा आएको परिवर्तनलाई लगानीकर्ताको बदलिँदो रणनीतिका रूपमा हेरिएको छ ।
आईसीटी समाचार