काठमाडौं । विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल परिवर्तन आवश्यक रहेको औँल्याए ।
सहभागी विज्ञहरूले एआईको बढ्दो प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने भए पनि प्रविधिलाई बुझ्न, प्रयोग गर्न र त्यसबाट निस्कने नतिजाको मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसर अझै विस्तार हुने धारणा उनीहरूको थियो ।
जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा. विकास लम्सालले एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रयोग गर्ने र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।
एआईले उपलब्ध गराएको सामाग्री जस्ताको तस्तै प्रयोग गर्ने प्रवृत्तिले जनशक्तिको रोजगारी जोखिममा पार्न सक्ने भएपनि एआईले गरेका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र वास्तविक अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने व्यक्तिको आवश्यकता भने कायमै रहने उनले स्पष्ट गरे ।
‘एआईलाई चलाउन सक्ने क्षमता चाहिन्छ । एआईलाई चेक गर्न सक्ने वा प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ,’ लम्सालले भने, ‘डेभलपरले जस्ताको त्यस्तै कपी पेस्ट गरेको अवस्थामा चाहिँ जागिर जान सक्छ । एआईको गल्ती पत्ता लगाउन सक्ने मानिसको जागिर जाँदैन ।’
नेपालको शिक्षा प्रणाली र पाठ्यक्रम समेत समयानुकूल परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो । एआईको प्रभावकारी प्रयोगका लागि उपयुक्त मार्गदर्शन, पाठ्यक्रम र तालिम आवश्यक रहेको उनले बताए ।
नेपाल र अमेरिकामा कार्यक्षेत्र रहेको सफ्टवेयर कम्पनी एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यले नयाँ प्रविधिको आगमनलाई रोजगारी गुम्ने जोखिमका रूपमा मात्र हेर्न नहुने बताए ।
कम्प्युटर र औद्योगिक प्रविधिको विकास हुँदा पनि रोजगारीका स्वरूप परिवर्तन भएको तर, त्यसले नयाँ अवसर र सम्भावनाको ढोका खोलेको चर्चा उनले गरे । एआईले चुनौती ल्याउने भएपनि मानिसको सिर्जनात्मक क्षमता र नयाँ कुरा खोज्ने प्रवृत्तिलाई विस्थापित गर्न नसक्ने उनको भनाइ थियो ।
‘हरेक नयाँ चिज आउँछ, त्यसले जब जाने होइन, बढाउँछ,’ आचार्यले भने, ‘नयाँ कुरा खोज्ने मान्छे सधैं क्रियटिभ हुन सक्छ । क्रियसन घटाउँदैन । चुनौती त ल्याउँछ नै ।’
एआईको प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याएपनि त्यसलाई कसरी उपयोग गरिन्छ भन्ने कुराले भविष्य निर्धारण गर्ने उनले बताए ।
आईसीटी समाचार