कीवर्डहरू -

नगरपालिकामा धाउनुपर्ने झन्झट अन्त्य, वीरेन्द्रनगरका सेवा अब अनलाइनमा

नगरपालिकामा धाउनुपर्ने झन्झट अन्त्य, वीरेन्द्रनगरका सेवा अब अनलाइनमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अब डिजिटल प्रशासनतर्फ तीव्र गतिमा अघि बढ्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘अब लाइनमा होइन, अनलाइनमा’ भन्ने नारासहित वीरेन्द्रनगर नगरपालिकाले अधिकांश सार्वजनिक सेवालाई प्रविधिमार्फत उपलब्ध गराउने योजना अघि सारेको हो ।

यस अभियानअन्तर्गत नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम ई-बीपीएस सञ्चालनमा ल्याएको छ । यो प्रणाली लागू भएपछि नगर क्षेत्रभित्र घर तथा अन्य भवन निर्माणका लागि आवश्यक नक्सा स्वीकृति र भवन निर्माण अनुमति अनलाइनबाटै लिन सकिनेछ ।

सेवाग्राहीले आवश्यक कागजात डिजिटल माध्यमबाट पेश गरी प्रक्रियाको अवस्थाबारे पनि अनलाइनमै जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । नगरपालिकाले यससँगै एकीकृत नगरपालिका सूचना प्रणाली (आईएमआईएस) समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रशासनिक अभिलेख, सेवा व्यवस्थापन तथा सूचना प्रवाहलाई एउटै डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । नगरपालिकाको दाबीअनुसार, यी दुई प्रणालीले सेवा प्रवाहलाई थप व्यवस्थित, उत्तरदायी र प्रविधिमैत्री बनाउनेछन् ।

ई-बीपीएसमार्फत भवनको नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा अन्तिम स्वीकृतिसम्मका सम्पूर्ण प्रक्रिया व्यवस्थित र सुरक्षित हुने विश्वास नगरपालिकाले लिएको छ । यसबाट नागरिकले कम समयमै सेवा प्राप्त गर्नुका साथै प्रशासनिक प्रक्रियामा पारदर्शिता पनि बढ्ने अपेक्षा गरिएको छ ।

डिजिटल रूपान्तरणलाई थप विस्तार गर्ने योजनाअनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा राजस्व संकलन र आर्थिक प्रशासनलाई समेत पूर्ण रूपमा डिजिटल बनाउने नीति अघि सारेको छ । नगर प्रशासनलाई क्रमश: कागजविहीन (पेपरलेस) बनाउँदै प्रविधिको प्रयोगलाई सबै क्षेत्रमा विस्तार गर्ने लक्ष्य नगरपालिकाको छ ।

शिक्षा क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ । माध्यमिक विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्टेम शिक्षाको प्रवर्द्धन गर्दै आधुनिक प्रयोगशाला स्थापना गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

स्वास्थ्य सेवामा पनि डिजिटल प्रणाली विस्तार गरिने भएको छ । गर्भवती महिलाको नियमित स्वास्थ्य निगरानीका लागि ‘आमा एप’ र ‘प्यारेन्ट एप’ सञ्चालन गर्ने, स्वास्थ्य संस्थामा डिजिटल गुनासो प्रणाली स्थापना गर्ने तथा सेवाको गुणस्तर सुधार गर्न प्रविधिको प्रयोग बढाउने योजना नगरपालिकाले सार्वजनिक गरेको छ ।

यसका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा सूचना प्रविधिको उपयोग विस्तार गर्दै वीरेन्द्रनगरलाई क्रमश: ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने रणनीति पनि नगरपालिकाले अघि सारेको छ  ।