कीवर्डहरू -

टिएआरएल परियोजनाले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार

टिएआरएल परियोजनाले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार

रोटरी क्लब अफ यलाले ललितपुर र काभ्रे जिल्लाका ३० सामुदायिक विद्यालयमा सञ्चालन गरेको ग्लोबल ग्रान्ट प्रोजेक्ट – टिचिङ एट द राइट लेभल (टिएआरएल) मार्फत कक्षा ३ देखि ५ सम्मका विद्यार्थीको आधारभूत सिकाइमा उल्लेखनीय सुधार आएको जनाएको छ।

रोटरी वर्ष २०२३/२४ देखि २०२५/२६ सम्म सञ्चालन भएको तीन वर्षे परियोजनाले विद्यार्थीको वास्तविक सिकाइ स्तर पहिचान गरी सोहीअनुसार शिक्षण गर्ने उद्देश्य लिएको थियो। परियोजना अन्तर्गत नेपाली, अंग्रेजी र गणित विषयमा ७,९९६ विद्यार्थीको मूल्याङ्कन गरिएको थियो। एन्डलाइन नतिजाअनुसार नेपालीमा कथा पढ्ने स्तर ५० प्रतिशतबाट ७७ प्रतिशत, अंग्रेजीमा २९ प्रतिशतबाट ६२ प्रतिशत र गणितमा भाग गर्ने स्तर ७ प्रतिशतबाट ४९ प्रतिशत पुगेको छ।

null

परियोजनाको कार्यान्वयन र नतिजा सार्वजनिक गर्न रोटरी क्लब अफ यलाले शनिबार ललितपुरको हात्तीवनस्थित क्लासिक टन्डुरी क्याफेमा रिजल्ट्स डिसेमिनेसन वर्कसप आयोजना गरेको थियो। बिहान ९:३० बजे सुरु भएको कार्यक्रम १२:३० बजे सम्पन्न भएको थियो। कार्यक्रममा ३० विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति (एसएमसी) का अध्यक्ष, शिक्षक, मेन्टर र रोटारियनहरूको सहभागिता थियो।

कार्यक्रममा ग्लोबल ग्रान्ट प्रोजेक्ट को-अर्डिनेटर रोटारियन प्रमोद प्रधानले परियोजनाको पृष्ठभूमि र कार्यान्वयन प्रक्रियाबारे जानकारी दिएका थिए। रोटरी डिस्ट्रिक्ट ३२९२ का बेसिक एजुकेसन एन्ड लिटरेसी सब-कमिटीका सदस्य सचिव तथा रोटरी क्लब अफ जावलाखेलका पास्ट प्रेसिडेन्ट रोटारियन राजेश थापा उप्रेतीले टिएआरएलको उपादेयता, स्थानीय तहको भूमिका र रोटरीका टी-ई-ए-सी-एच, ग्लोबल ग्रान्ट तथा डिस्ट्रिक्ट ग्रान्ट कार्यक्रमबारे प्रकाश पारेका थिए। परियोजनाको समग्र उपलब्धि, बेसलाइन र एन्डलाइन एसेस्मेन्टको नतिजा, चुनौती र आगामी योजनाबारे पीपी रोटरी क्लब अफ यला तथा टिएआरएल प्रोजेक्ट टेक्निकल को-अर्डिनेटर रोटारियन धर्मेन्द्र शाक्यले प्रस्तुति दिएका थिए।

परियोजना अन्तर्गत १९७ जना हेड टिचरलाई अभिमुखीकरण, १४४ जना शिक्षकलाई आठ दिने टिएआरएल तालिम र ३० विद्यालयमा शिक्षण–सिकाइ सामग्री, टिएआरएल गाइडलाइन्स, टिचर्स डाइरी तथा एसेस्मेन्ट टुल्स उपलब्ध गराइएको थियो। साथै ७०८ जनालाई लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशालामा सहभागी गराइएको थियो।

null

कार्यशालामा सहभागीहरूले टिएआरएल विधि व्यवहारिक र विद्यार्थीमैत्री रहेको बताउँदै कमजोर सिकाइ भएका विद्यार्थीका लागि कार्यक्रम निरन्तर चल्नुपर्ने सुझाव दिएका थिए। विद्यालयमा थप शिक्षण सामग्री, लर्निङ क्याम्प र विद्यालय सुधार योजना (एसआईपी) मा टिचिङ इम्प्रुभमेन्टलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखिएको थियो।

सोही अवसरमा सोसाइटी अफ रिसर्च एन्ड डेभलपमेन्टका रामबहादुर श्रेष्ठले स्कुल इम्प्लिमेन्टेसन प्लान सम्बन्धी आगामी कार्यतालिकाबारे जानकारी दिएका थिए। रोटारियन मिनु प्रधानले निकट भविष्यमा २५ जना शिक्षकका लागि १० दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सञ्चालन गर्ने जानकारी दिएकी थिइन्।

कार्यक्रमको समापन गर्दै रोटरी क्लब अफ यलाका अध्यक्ष रोटारियन दिपक दास ताम्राकारले टिएआरएल परियोजनाबाट प्राप्त अनुभवलाई आगामी शैक्षिक कार्यक्रम र विद्यालय सुधार प्रयासमा उपयोग गर्न सकिने बताए। उनले परियोजनामा संलग्न को-अर्डिनेटर, फोकल पर्सन, रोटारियन, एएनएन, मेन्टर, सहयोगी अन्तर्राष्ट्रिय रोटरी क्लब, विद्यालय परिवार र शिक्षकहरूलाई धन्यवाद दिएका थिए।

परियोजनाको उपलब्धिलाई दिगो बनाउन र कमजोर सिकाइ भएका विद्यार्थीलाई थप सहयोग पुर्‍याउन रोटरी क्लब अफ यलाले छ महिनाको विस्तार योजना अघि सारेको छ। उक्त योजनाअन्तर्गत लर्निङ क्याम्प, मेन्टर सपोर्ट, एसआईपी अद्यावधिकमा सहयोग र आवश्यक शिक्षण–सिकाइ सामग्री उपलब्ध गराइनेछ।