कीवर्डहरू -

कांग्रेसले आयोजना गर्दै महिला उद्यमशीलता सम्मेलन, ८० बढी उद्यमीका उत्पादन प्रदर्शनीमा

कांग्रेसले आयोजना गर्दै महिला उद्यमशीलता सम्मेलन, ८० बढी उद्यमीका उत्पादन प्रदर्शनीमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ । सम्मेलन आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा हुने आयोजकले जनाएको छ ।

बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुने एकदिने सम्मेलन महिला आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा स्टार्टअप तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) क्षेत्रमा सक्रिय महिला उद्यमीबीच अनुभव आदानप्रदान गरिनेछ । साथै लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक सञ्जाल निर्माणलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

८० भन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शनीमा
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत आयोजना गरिनेछ । प्रदर्शनीमार्फत उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित व्यावसायिक साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वको सहभागितामा तीनवटा विषयगत प्यानल सञ्चालन गरिनेछ । प्यानल छलफलमा महिला उद्यमीले सामना गरिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच, प्रविधि र डिजिटल बजारका सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे छलफल गरिने आयोजकले जनाएको छ ।

सफल उद्यमीले सुनाउनेछन् आफ्नो यात्रा
सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ शीर्षकको स्टोरीटेलिङ सत्रसमेत सञ्चालन हुनेछ । उक्त सत्रमा सफल महिला उद्यमीले व्यवसाय सुरु गर्दाका संघर्ष, चुनौती, उपलब्धि तथा आफूले सिकेका अनुभव सहभागीमाझ साझा गर्नेछन् ।

महिला उद्यमीलाई व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका अवसरबारे जानकारी उपलब्ध गराउन सम्मेलनस्थलमा सम्बन्धित विषयका जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ ।

त्यसैगरी, सम्मेलनमा ‘बिजनेस टु बिजनेस’ (बीटुबी) तथा ‘बिजनेस टु कन्ज्युमर’ (बीटुसी) नेटवर्किङलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

१० हजारभन्दा बढी सहभागीको अपेक्षा
आयोजकले सम्मेलनमा १० हजारभन्दा बढी व्यक्तिले अवलोकन तथा सहभागिता जनाउने अपेक्षा गरेको छ । सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशा समेटिएको ‘सानेपा घोषणापत्र’ सार्वजनिक गरिनेछ ।

कार्यक्रममा नेपाल महिला संघले सहकार्य गर्नेछ । सम्मेलन महिला उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनाका विषयमा केन्द्रित रहेको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले जानकारी दिए ।