काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरू प्रदान गर्न थालेको छ । यो टावरको सञ्चालन पश्चात मार्माको लट्टीनाथ क्षेत्रका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन् ।
स्थानीयहरूको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो । स्थानीय बासिन्दामात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।
‘यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानीयका साथै पर्यटकहरूलाई दिन सफल भएका छौं । यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको एक स्पष्ट प्रमाण हो,’ एनसेलकी हेड अफ नेटवर्क लेना केशरी कंसाकारले भनिन् ।
हाल एनसेलले देशभर ४५ सयभन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ ।
आईसीटी समाचार