कीवर्डहरू -

एक क्लिकको गल्तीले रित्तिन सक्छ बैंक खाता : यसरी फैलिँदै छ अनलाइन स्क्यामको जालो

एक क्लिकको गल्तीले रित्तिन सक्छ बैंक खाता : यसरी फैलिँदै छ अनलाइन स्क्यामको जालो

काठमाडौं । "तपाईंले अन्तर्राष्ट्रिय लट्री जित्नुभएको छ", "विदेशबाट आईफोन उपहार आएको छ", "घरमै बसेर मासिक लाखौँ रुपैयाँ कमाउनुहोस्", "तपाईंको बैंक खाता अपडेट गर्न OTP भन्नुहोस्" यस्ता सन्देश अहिले धेरै नेपालीका मोबाइल, इमेल र सामाजिक सञ्जालमा नियमितजसो देखिन्छन् । कतिपयले यस्ता सन्देश बेवास्ता गर्छन् भने कतिपय लोभ, हतार वा विश्वासका कारण स्क्यामरको जालोमा फस्छन् ।

नेपालमा डिजिटल बैंकिङ, मोबाइल वालेट, क्यूआर भुक्तानी र अनलाइन किनमेलको प्रयोग तीव्र रूपमा बढेसँगै साइबर अपराधको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । पहिले बैंक वा कार्यालयसम्म सीमित हुने आर्थिक कारोबार अहिले मोबाइलबाटै सम्भव छ । यही सहजतालाई दुरुपयोग गर्दै स्क्यामरहरूले नयाँ नयाँ तरिकाबाट सर्वसाधारणलाई आर्थिक तथा मानसिक रूपमा क्षति पुर्‍याइरहेका  छन् ।

यही बढ्दो जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धिका लागि स्क्याम अर्थात् अनलाइन ठगीका विभिन्न स्वरूपबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको जनचेतनामूलक सामाग्रीमा स्क्यामका प्रमुख प्रकार, त्यसबाट बच्ने उपाय तथा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

राष्ट्र बैंकका अनुसार स्क्याम भनेको व्यक्तिलाई झुक्याएर, लोभ्याएर वा डर देखाएर उसको पैसा, सम्पत्ति वा व्यक्तिगत जानकारी गैरकानुनी रूपमा हात पार्ने कार्य हो । स्क्यामरहरूले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टेलिग्राम, इमेल, एसएमएस, फोन कल, नक्कली वेबसाइटदेखि प्रत्यक्ष भेटघाटसम्मका माध्यम प्रयोग गरेर आफ्नो योजना कार्यान्वयन गरिरहेका छन् ।

लोभ, विश्वास र डर : स्क्यामको साझा रणनीति
अनलाइन स्क्यामका तरिका फरक फरक भएपनि अधिकांशमा एउटै मनोविज्ञान प्रयोग गरिन्छ । कसैलाई ठूलो रकम जितेको लोभ देखाइन्छ, कसैलाई छोटो समयमा धेरै आम्दानी हुने सपना बेचिन्छ, कसैलाई जागिरको आशा देखाइन्छ भने कसैलाई आफन्त वा सरकारी निकायको नाम प्रयोग गरेर डर र हतार सिर्जना गरिन्छ । जब पीडितले सोच्ने समय नपाई निर्णय गर्छ, त्यहीँबाट स्क्याम सफल हुन्छ ।

लट्री र उपहार स्क्याम : नपाएको पुरस्कारको मूल्य
"तपाईंले अन्तर्राष्ट्रिय लट्री जित्नुभएको छ", "विदेशबाट उपहार आएको छ" वा "आईफोन पठाइएको छ" भन्ने सन्देश अहिले पनि अनलाइन स्क्यामको सबैभन्दा पुरानो र धेरै प्रयोग हुने माध्यम हो । स्क्यामरहरूले पुरस्कार वा उपहार प्राप्त गर्न कर, भन्सार, ढुवानी वा सेवा शुल्क तिर्नुपर्ने भन्दै अग्रिम रकम माग्छन् । धेरै व्यक्तिले पुरस्कार प्राप्त हुने आशामा रकम पठाएका छन् । तर पैसा पठाएपछि स्क्यामर सम्पर्कविहीन हुने, उपहार नआउने र रकम समेत गुम्ने गरेको छ ।

लगानी स्क्याम : धेरै नाफाको प्रलोभन
"एक महिनामै पैसा दोब्बर", "जोखिमबिनै उच्च प्रतिफल" वा "सीमित समयका लागि विशेष लगानी अवसर" जस्ता विज्ञापन अहिले सामाजिक सञ्जालमा व्यापक देखिन्छन् । यस्ता योजनामा सुरुमा सानो नाफा देखाएर विश्वास जितिन्छ । त्यसपछि ठूलो रकम लगानी गर्न प्रोत्साहित गरिन्छ । धेरै व्यक्तिले उच्च प्रतिफलको आशामा रकम लगानी गरेपछि वेबसाइट बन्द हुने, सञ्चालक सम्पर्कविहीन हुने वा लगानी नै फिर्ता नपाउने अवस्था भोगेका छन् ।

जागिर स्क्याम : रोजगारीको सपना बेच्ने धन्दा
सामाजिक सञ्जालमा "घरमै बसेर राम्रो आम्दानी", "विदेशमा आकर्षक रोजगारी" वा "अनलाइन पार्टटाइम" जस्ता विज्ञापन दिनप्रतिदिन बढिरहेका छन् । यस्ता विज्ञापनमार्फत आवेदन शुल्क, दर्ता शुल्क, तालिम शुल्क वा अन्य बहानामा रकम असुल्ने गरिन्छ । कतिपय अवस्थामा नागरिकता, पासपोर्ट, बैंक विवरणजस्ता व्यक्तिगत कागजात पनि मागिन्छन् । धेरै युवाले रोजगारीको आशामा रकम गुमाउनुका साथै आफ्ना व्यक्तिगत विवरण समेत स्क्यामरको हातमा पुर्‍याएका  छन् ।

व्यापार र अनलाइन किनमेल स्क्याम
अनलाइन किनमेल बढेसँगै सस्तो मूल्यमा मोबाइल, ल्यापटप, मोटरसाइकल, कोठा वा फ्ल्याट दिने विज्ञापन पनि बढेका छन् । स्क्यामरहरूले अग्रिम भुक्तानी गर्न लगाएर त्यसपछि सम्पर्क नै बन्द गर्ने गरेका छन् । कतिपय अवस्थामा वास्तविक कम्पनी वा व्यवसायको नाम प्रयोग गरिए पनि रकम भने फरक व्यक्तिको खातामा पठाउन लगाइन्छ । धेरै उपभोक्ता यस्ता विज्ञापनको विश्वासमा परेर आर्थिक नोक्सानीमा परेका छन् ।

रोमान्स स्क्याम : सम्बन्धको नाममा आर्थिक शोषण
रोमान्स स्क्याममा सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग मित्रता गरिन्छ । केही समयसम्म नियमित कुराकानी गरी विश्वास जितेपछि बिरामी परेको, दुर्घटना भएको, नेपाल आउन लागेको वा उपहार पठाएको भन्दै आर्थिक सहयोग मागिन्छ । यस्ता घटनामा धेरै व्यक्तिले सम्बन्धप्रतिको विश्वासका कारण पटक पटक रकम पठाएका छन् । अन्ततः न सम्बन्ध रहन्छ, न पठाएको रकम फिर्ता आउँछ ।

परिचितको भेषमा हुने स्क्याम
साथी, आफन्त, बैंक कर्मचारी, सरकारी निकाय वा कुनै संस्थाको प्रतिनिधि बनेर तुरुन्तै रकम पठाउन वा OTP, PIN, पासवर्ड तथा बैंक विवरण दिन आग्रह गर्ने प्रवृत्ति पनि बढ्दो छ । धेरैजसो अवस्थामा सामाजिक सञ्जालका ह्याक भएका खाताबाट पैसा मागिन्छ । हतारमा व्यक्तिको पहिचान पुष्टि नगरी रकम पठाउँदा धेरै मानिस आर्थिक ठगीको सिकार भएका छन् ।

QR कोड र प्रत्यक्ष उपस्थित भएर हुने ठगी
डिजिटल भुक्तानी बढेसँगै QR कोडसम्बन्धी ठगी पनि नयाँ चुनौती बनेको छ । स्क्यामरहरूले पसलको वास्तविक QR कोडमाथि नक्कली QR टाँस्ने, पैसा नतिरी नक्कली "Payment Successful" स्क्रिन देखाउने वा सरकारी निकायको प्रतिनिधि बनेर फरक खातामा रकम जम्मा गर्न लगाउने गरेका छन् । यसका कारण व्यवसायीले सामान दिएपनि रकम नपाउने र उपभोक्ता समेत विभिन्न प्रकारका ठगीमा पर्ने गरेका छन् ।

यति मात्रै होइन, यी स्क्याम पनि सक्रिय
अनलाइन स्क्याम लट्री वा लगानीमा मात्र सीमित छैन । विदेशबाट सम्पत्ति दिने भन्दै शुल्क माग्ने उत्तराधिकार (Inheritance) स्क्याम, बैंक वा सेवा प्रदायक बनेर OTP माग्ने OTP स्क्याम, अपरिचित महिलाको नामबाट भिडियो कल गरी अश्लील सामाग्री सार्वजनिक गर्ने धम्की दिएर रकम असुल्ने WhatsApp भिडियो कल स्क्याम (Sextortion), सस्तो कोठा वा फ्ल्याटको विज्ञापन राखेर अग्रिम रकम लिने स्क्याम तथा अनलाइन किनमेलका क्रममा व्यक्तिगत कागजात मागेर दुरुपयोग गर्ने प्रवृत्ति पनि बढ्दो छ । यी सबै स्क्यामको उद्देश्य एउटै हुन्छ, पीडितको पैसा वा व्यक्तिगत जानकारी कब्जा गर्नु ।

कसरी बच्ने ?
नेपाल राष्ट्र बैंकले अनलाइन स्क्यामबाट बच्न सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अपरिचित इमेल, एसएमएस वा लिंकमा क्लिक नगर्ने, विदेशी उपहार वा लट्री परेको सन्देशमा विश्वास नगर्ने, OTP, PIN, CVV, पासवर्ड वा बैंक विवरण कसैसँग पनि साझा नगर्ने, जागिरका लागि पहिले रकम लगानी गर्नुपर्ने प्रस्ताव अस्वीकार गर्ने, सामाजिक सञ्जालबाट रकम मागिएमा फोन गरेर व्यक्ति नै हो वा होइन भन्ने पुष्टि गर्ने, बलियो पासवर्ड प्रयोग गर्ने र नियमित परिवर्तन गर्ने, सबै सम्भव खातामा Two-Factor Authentication (2FA) वा Multi-Factor Authentication (MFA) प्रयोग गर्ने, सार्वजनिक Wi-Fi मा बैंकिङ कारोबार नगर्ने, कम्प्युटर तथा मोबाइल नियमित अपडेट गर्ने, विश्वसनीय एन्टिभाइरस प्रयोग गर्ने र आवश्यक डाटाको नियमित ब्याकअप राख्ने राष्ट्र बैंकको सुझाव छ । साथै, बालबालिका र परिवारका सदस्यलाई पनि अनलाइनमा हुन सक्ने जोखिमबारे जानकारी गराउनुपर्नेमा जोड दिइएको छ ।

शंका लागे ढिला नगर्नुहोस्
यदि आफू स्क्यामको सिकार भएको वा प्रयास भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्था, नेपाल प्रहरीको साइबर ब्युरो तथा नियमनकारी निकायलाई जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । समयमै सूचना दिएमा थप आर्थिक क्षति रोक्न र आवश्यक कारबाही अघि बढाउन सहज हुने बताइएको छ ।

डिजिटल युगमा सचेतना नै सबैभन्दा ठूलो सुरक्षा
डिजिटल प्रविधिले जीवनलाई सहज बनाएको छ । तर प्रविधिसँगै जोखिम पनि थपिएका छन् । अहिलेका स्क्यामरहरूले कम्प्युटरभन्दा बढी मानिसको मनोविज्ञान ह्याक गरिरहेका छन् । उनीहरूले विश्वास जित्छन्, हतार सिर्जना गर्छन्, लोभ देखाउँछन् र त्यसपछि आर्थिक क्षति पुर्‍याउँछन् । त्यसैले कुनै पनि अस्वाभाविक प्रस्ताव, अत्यधिक नाफाको आश्वासन, तत्काल पैसा माग्ने सन्देश वा व्यक्तिगत जानकारी माग्ने व्यक्तिप्रति सधैँ शंकालु हुनु आवश्यक छ । डिजिटल युगमा साइबर सचेतना केवल प्रविधि जान्ने विषय होइन, आफ्नै सम्पत्ति, व्यक्तिगत जानकारी र आर्थिक भविष्य सुरक्षित राख्ने आधार पनि हो ।