काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो नाम र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम दुरुपयोग गरी पठाइने नक्कली (फिसिङ) इमेलप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
ब्यूरोले बिहीबार सूचना जारी गर्दै हाल केही व्यक्तिले "तपाईंले अश्लील तथा गैरकानुनी वेबसाइट हेर्नुभएको छ, कानुनी कारबाहीबाट बच्न तत्काल जवाफ दिनुहोस्" भन्ने आशयका इमेल प्राप्त गरेको जानकारी आएको जनाएको छ । त्यस्ता इमेलमा नेपाल प्रहरीको नाम र लोगो प्रयोग गरिएपनि ती पूर्ण रूपमा भ्रामक र ठगी गर्ने उद्देश्यले पठाइएका फिसिङ इमेल भएको साइबर ब्यूरोले स्पष्ट पारेको छ ।
साइबर ब्यूरोका अनुसार नेपाल प्रहरीले आधिकारिक रूपमा nepalpolice.gov.np डोमेनबाट मात्र इमेल पठाउने गर्छ । उदाहरणका रूपमा [email protected] आधिकारिक इमेल रहेको उल्लेख गरिएको छ ।
ब्यूरोले कुनै पनि शंकास्पद इमेल वा इन्टरनेटमा देखिएका सूचनामाथि विश्वास गर्नुअघि तथ्य जाँच (फ्याक्ट चेक) गर्न आग्रह गरेको छ । साथै, यस्ता फिसिङ इमेल प्राप्त भएमा त्यसलाई "Mark as Spam" वा "Report Spam" गरेर रिपोर्ट गर्न पनि अनुरोध गरिएको छ ।
साइबर ब्यूरोले फिसिङ इमेल नेपालमा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो साइबर अपराधको एक माध्यम भएकाले यस्ता सन्देशमा प्रतिक्रिया नदिन र व्यक्तिगत वा बैंकिङ विवरण कुनै पनि अवस्थामा साझा नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।

आईसीटी समाचार