कीवर्डहरू -

बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै देखिएका साइबर सुरक्षा चुनौती, डिजिटल ठगी तथा डेटा गोपनीयतासम्बन्धी जोखिम न्यूनीकरण गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।

वित्तीय क्षेत्रको साइबर सुरक्षा प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ल्याइएको उक्त अनुदान कार्यक्रमले एआईमार्फत हुने वित्तीय ठगी नियन्त्रण, ग्राहकका व्यक्तिगत तथा वित्तीय विवरणको संरक्षण र नियामकीय मापदण्डअनुरूप प्रविधिको विकासलाई प्राथमिकता दिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्थाले अनुदान कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र तथा अनुसन्धानका प्राथमिकताबारे जानकारी गराएको हो । अनुसन्धान संस्था, विश्वविद्यालय, नियामक निकाय र वित्तीय क्षेत्रबीच सहकार्य विस्तार गर्दै नेपालमा एआई तथा साइबर सुरक्षासम्बन्धी अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीका अनुसार अनुदान कार्यक्रमले चार प्रमुख क्षेत्रमा केन्द्रित रहेर अनुसन्धानलाई अघि बढाउनेछ । पहिलो, डिजिटल ठगी तथा ग्राहकको पहिचान चोरी नियन्त्रण गर्नुका साथै स्वचालित वित्तीय कारोबारलाई सुरक्षित बनाउन उन्नत एआई मोडेल विकासमा जोड दिइनेछ ।

दोस्रो, ग्राहकको गोपनीयता कायम राख्दै वित्तीय तथ्यांक प्रशोधन गर्न सकिने फेडरेटेड लर्निङलगायतका गोपनीयतामैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ । तेस्रो, नेपाली युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा साइबर सुरक्षा विज्ञलाई व्यावहारिक अनुसन्धानमा संलग्न हुने अवसर प्रदान गरिनेछ ।

चौथो, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायलाई अनुसन्धानमा आधारित नीतिगत सुझाव उपलब्ध गराउने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि चारवटा प्राथमिकता क्षेत्रसमेत निर्धारण गरिएको छ ।

‘एआई थ्रेट इन्टेलिजेन्स’ अन्तर्गत एआईमा आधारित साइबर जोखिमको निगरानी, विश्लेषण तथा सम्भावित खतराको स्वचालित पहिचान गर्ने प्रणाली विकासमा अनुसन्धान गरिनेछ । ‘डेटा गभर्नेन्स’ अन्तर्गत वित्तीय तथ्यांकको सुरक्षित व्यवस्थापन, गोपनीयता संरक्षण तथा प्रयोगसम्बन्धी प्रभावकारी ढाँचा निर्माणलाई प्राथमिकता दिइनेछ ।

त्यसैगरी, ‘वित्तीय ठगी नियन्त्रण’ शीर्षकमा शंकास्पद वित्तीय कारोबारको समयमै पहिचान तथा पूर्वानुमान गरी सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने प्रविधिको विकासमा अनुसन्धान हुनेछ । ‘एथिकल एआई’ अन्तर्गत कर्जा मूल्यांकन तथा बैंकिङ सेवामा प्रयोग हुने एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष, विश्वसनीय र जवाफदेही बनाउने विषयमा अध्ययन गरिनेछ ।

यस अनुसन्धान अनुदान कार्यक्रमको अवधारणात्मक ढाँचा सीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रा. डा. गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा, कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् ।

संस्थाका अनुसार यस पहलले बैंक तथा वित्तीय संस्थालाई परम्परागत सुरक्षा प्रणालीबाट सम्भावित जोखिमको पूर्वानुमान गर्न सक्ने र स्वचालित रूपमा प्रतिक्रिया जनाउने आधुनिक सुरक्षा प्रणालीतर्फ अघि बढ्न सहयोग पुर्‍याउनेछ ।

साथै, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञ र वित्तीय क्षेत्रबीच सहकार्य विस्तार गरी नेपालमै एआई तथा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन र अनुसन्धान क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ ।

अनुसन्धान अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक अनुसन्धानकर्ता, विज्ञ तथा विद्यार्थीले सीएसआरआई नेपालको आधिकारिक वेबसाइट csrinepal.org.np/globalresearchgrant मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।