काठमाडौं । आठ वर्षभन्दा लामो यात्रा र करिब ६ अर्ब माइल दूरी पार गरेपछि युरोपेली र जापानी संयुक्त अन्तरिक्ष अभियान ‘बेपीकोलम्बो’ बुध ग्रह (मर्करी) को कक्षमा प्रवेश गर्ने अन्तिम चरणमा पुगेको छ । सूर्यको सबैभन्दा नजिक रहेको तथा सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधको रहस्य पत्ता लगाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियान वैज्ञानिकहरूका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
शनिबार मिसन नियन्त्रकहरूले अन्तरिक्ष यानका थ्रस्टर सक्रिय गरेपछि बेपीकोलम्बो बुध ग्रहको परिक्रमा गर्ने इतिहासकै दोस्रो अन्तरिक्ष अभियान बन्ने तयारीमा छ । करिब १ अर्ब ६० करोड युरो लागतको यो अभियानले बुध ग्रहको उत्पत्ति, बनावट, चुम्बकीय क्षेत्र र त्यहाँका स्थायी छायामा रहने खाडलहरूमा पाइने बरफबारे अध्ययन गर्नेछ ।
यस परियोजनामा करिब २० वर्षदेखि काम गर्दै आएकी बेलायतको लेस्टर विश्वविद्यालयकी प्राध्यापक एम्मा बन्सले अभियानको उपलब्धिलाई लामो प्रतीक्षापछिको महत्त्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन् । उनले भनेकी छन्, “हामी निकै उत्साहित छौँ, यो लामो प्रतीक्षाको घडी थियो ।”
बुध ग्रहसम्म अन्तरिक्ष यान पुर्याउनु निकै चुनौतीपूर्ण मानिन्छ । सूर्यको नजिक रहेकाले यसको गुरुत्वाकर्षण प्रभावका कारण अन्तरिक्ष यानको गति तीव्र हुन्छ । त्यसैले बुध ग्रहको कक्षमा प्रवेश गर्न यानको गति कम गर्नु र त्यसलाई आवश्यक कक्षमा स्थापित गर्नु जटिल प्रक्रिया हो ।
‘मर्करी इमेजिङ एक्स-रे स्पेक्ट्रोमिटर’ (एमआईएक्सएस) उपकरणकी प्रमुख अनुसन्धानकर्ता समेत रहेकी प्राध्यापक बन्सका अनुसार यो निकै जटिल र चुनौतीपूर्ण अभियान हो । उक्त उपकरणले बुध ग्रहको सतहमा रहेका विभिन्न तत्त्व तथा भू–रासायनिक संरचनाको विश्लेषण गर्नेछ ।
वैज्ञानिक अनुसन्धानका लागि अन्तरिक्ष यानलाई अझै केही समय लाग्नेछ । डिसेम्बरको सुरुतिर बेपीकोलम्बो दुईवटा छुट्टाछुट्टै अर्बिटरमा विभाजित हुनेछ । तीमध्ये एउटा युरोपेली र अर्को जापानी अन्तरिक्ष यान हुनेछ । दुवै यान बुध ग्रहको वरिपरि फरक–फरक ध्रुवीय कक्षमा स्थापित हुनेछन् । आगामी वर्षको अप्रिलदेखि वैज्ञानिक अध्ययन सुरु हुने अपेक्षा गरिएको छ ।
‘मर्करी प्लानेटरी अर्बिटर’ (एमपीओ) नाम दिइएको युरोपेली अन्तरिक्ष यानले बुध ग्रहको सतह र भौगोलिक बनावटको उच्च गुणस्तरको नक्सा तयार पार्नेछ । साथै, यसले ग्रहको आन्तरिक संरचना अध्ययन गर्दै असामान्य रूपमा ठूलो रहेको यसको केन्द्र भाग (कोर) बारे जानकारी सङ्कलन गर्नेछ ।
त्यस्तै, जापानी अन्तरिक्ष यानले बुध ग्रहको चुम्बकीय क्षेत्र र त्यसलाई घेरेर रहेको अत्यन्त पातलो ग्यास तथा परमाणुको तह ‘सोडियम एक्सोस्फियर’को अध्ययन गर्नेछ ।
बुध ग्रह चन्द्रमाभन्दा आकारमा करिब ५० प्रतिशत ठूलो भएपनि यसको पिण्ड चन्द्रमाको तुलनामा झन्डै चार गुणा बढी छ ।
आकारको तुलनामा बुध ग्रह यति घना हुनुको कारण पत्ता लगाउनु पनि यस अभियानको प्रमुख उद्देश्य हो । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को बेपीकोलम्बो मिसनका प्रमुख वैज्ञानिक प्राध्यापक गेरेन्ट जोन्सले आठ वर्ष लामो यात्राका क्रममा वैज्ञानिक अनुसन्धानबाट प्राप्त हुने नतिजाको प्रतीक्षाले टोलीलाई उत्साहित बनाएको बताएका छन् ।
उनका अनुसार दुईवटा अन्तरिक्ष यानमा जडान गरिएका अत्याधुनिक उपकरणको सहायताले बुध ग्रहको आन्तरिक संरचना, सतह र वरपरको अन्तरिक्षबारे विस्तृत अध्ययन गरिनेछ ।
बुध ग्रह चरम तापक्रम र वातावरण भएको ग्रह हो । यसले आफ्नो अक्षमा एकपटक घुम्न पृथ्वीका करिब ५८ दिन लगाउँछ । त्यसैले यसको सतहको कुनै स्थानमा करिब तीन महिनासम्म दिन र त्यसपछि तीन महिनासम्म रात रहन सक्छ ।
सूर्य र पृथ्वीबीचको औसत दूरीको तुलनामा बुध ग्रह सूर्यबाट करिब एक तिहाइ दूरीमा अवस्थित छ । सूर्यबाट यसको दूरी करिब ३ करोड ६० लाख माइल छ । यहाँ दिउँसो सतहको तापक्रम ४५० डिग्री सेल्सियससम्म पुग्छ भने रातको समयमा घटेर माइनस १८० डिग्री सेल्सियससम्म झर्छ ।
प्राध्यापक जोन्सका अनुसार अभियानमा विभिन्न तरङ्गदैर्ध्यमा काम गर्ने क्यामेरा, ग्यास विश्लेषण गर्ने उपकरण, चुम्बकीय क्षेत्र मापन गर्ने यन्त्र र ग्रहको आन्तरिक संरचना अध्ययन गर्ने संवेदनशील उपकरण प्रयोग गरिनेछ । लेजर प्रविधिको सहायताले बुध ग्रहको समग्र आकारको नक्सासमेत तयार पारिनेछ ।
वैज्ञानिकहरूका अनुसार दुवै अन्तरिक्ष यानले करिब तीन वर्षसम्म बुध ग्रहको परिक्रमा गर्दै अनुसन्धान गर्नेछन् । त्यसपछि इन्धन सकिँदै जाँदा यानको कक्ष क्रमशः तल झर्नेछ र अन्ततः दुवै यान बुध ग्रहको सतहमा ठोक्किनेछन् ।
प्राध्यापक बन्सले अभियानको अन्त्यबारे दुःख व्यक्त गर्दै भनेकी छन्, “दुःखको कुरा, ती अब कहिल्यै फर्केर आउने छैनन् ।” बेपीकोलम्बो अभियानले बुध ग्रहको उत्पत्ति, आन्तरिक संरचना, चुम्बकीय क्षेत्र र वातावरणबारे नयाँ तथ्य पत्ता लगाउने अपेक्षा गरिएको छ । यसबाट सौर्यमण्डलका ग्रहहरूको निर्माण र विकासक्रम बुझ्नसमेत वैज्ञानिकहरूलाई महत्त्वपूर्ण सहयोग पुग्नेछ ।
आईसीटी समाचार