कीवर्डहरू -

काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा

काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा

काठमाडौं । सूचना प्रविधि क्षेत्रका स्टार्टअप तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको स्टार्टअप फेस्ट आजदेखि काठमाडौंमा सुरु भएको छ ।

आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा फेस्ट आयोजना भएको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना सहभागी छन् ।

null

फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोटिक्स, ड्रोन, एआइ प्रविधि, रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका उत्पादन, सेवा तथा परियोजना प्रदर्शनीमा राखिएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता समेत आयोजना भइरहेका छन् । सहभागीले नयाँ प्रविधि र सीपबारे जानकारी लिनुका साथै रोजगारी तथा इन्टर्नसिपका अवसर खोज्न सक्नेछन् ।

यस वर्ष प्रदर्शनीसँगै स्टार्टअपसम्बन्धी सम्मेलन समेत आयोजना गरिएको छ । ‘स्टार्टअप पल्स’ सेसनमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा आइडिया पिचिङका कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्मेलनमा नेपालको स्टार्टअप इकोसिस्टमको विकास, सम्भावना र चुनौतीबारे छलफल हुनेछ ।

null

स्टार्टअपलाई लगानीकर्ता, भेन्चर क्यापिटल (भिसी) तथा उद्यमीसँग जोड्ने उद्देश्यले फेस्टमा स्टार्टअप लाउन्जको व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले प्रदर्शनी अवलोकन गर्दै स्टार्टअपसँग नेटवर्किङ तथा व्यावसायिक छलफल गर्न सक्नेछन् ।

यस वर्ष सामाजिक नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका संस्था, स्टार्टअप तथा परियोजनालाई पनि प्रदर्शनीमा समेटिएको छ । सामाजिक समस्या समाधानका लागि प्रविधि र सिर्जनात्मक सोचमार्फत विकास गरिएका नवीनतम समाधान अवलोकनकर्ताले प्रत्यक्ष रूपमा हेर्न पाउनेछन् ।

फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्ट सहभागी छन् । त्यस्तै, सातै प्रदेशबाट छनोट भएका थप २५ भन्दा बढी स्टार्टअपले पनि आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरिरहेका छन् ।

null

अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका स्टार्टअप तथा उत्पादनबारे जानकारी लिनुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्न सक्नेछन् ।

आयोजकका अनुसार नेपाली युवा स्टार्टअप, विद्यार्थी तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने, उनीहरूका उत्पादन तथा सेवाको बजार विस्तारमा सहयोग पुर्‍याउने र उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फेस्ट आयोजना गरिएको हो । फेस्टमा प्रवेश नि:शुल्क रहेको छ ।

प्रदर्शनीमा सहभागी स्टार्टअपमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागि उत्पादन प्रदर्शन तथा व्यावसायिक सञ्जाल विस्तारका सत्रसमेत सञ्चालन भइरहेका छन् । यसबाट स्टार्टअपले सम्भावित लगानीकर्ता र व्यावसायिक साझेदारसँग जोडिने अवसर पाउने आयोजकको अपेक्षा छ ।

फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट क्षेत्रका नेतृत्वकर्ता, नीतिनिर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता, विद्यार्थी तथा प्रविधिप्रेमीको सहभागिता रहनेछ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय शिक्षा प्रदान गर्दै आएको सनवे कलेजले पनि आफ्ना कृत्रिम बुद्धिमत्तामा आधारित विभिन्न परियोजना प्रदर्शनीमा राखेको छ ।

फेस्टसँगै मंसिर ५ र ६ गते आइसिटी अवार्डका चार विधामा छनोट भएका तथा प्रदर्शनीमा सहभागी ५० स्टार्टअप र इन्नोभेसनले ग्राण्ड जुरी सेसनमा प्रतिस्पर्धा गर्नेछन् । ग्राण्ड जुरीपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच छनोट गरी अवार्डका लागि सिफारिस गरिनेछ । उक्त जुरी सेसन हिमालय टेलिभिजनमा विभिन्न एपिसोडका रूपमा प्रसारण हुनेछ ।

सूचना प्रविधि क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२६ का लागि यस वर्ष ७०० भन्दा बढी अनलाइन मनोनयन प्राप्त भएको आयोजकले जनाएको छ । अवार्डका विभिन्न विधामा छनोट प्रक्रिया जारी छ ।

फेस्टमा अवार्डका लागि छनोट भएका उत्कृष्ट स्टार्टअप तथा नवप्रवर्तनका परियोजना प्रत्यक्ष अवलोकन गर्न पाउनु दर्शकका लागि थप आकर्षण बनेको छ ।