कीवर्डहरू -

स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा

स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सुधन झाले स्टार्टअप सफल बनाउन लगनशीलता, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन् ।

आइसिटी आइडिया फेस्ट २०२६ अन्तर्गत आयोजित स्टार्टअपसम्बन्धी कार्यक्रममा बोल्दै झाले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताएका हुन् ।

उनले आफ्नो पुस्ताको तुलनामा अहिलेको युवा पुस्ता नयाँ काम गर्न र उद्यमशीलतामा अघि बढ्न बढी आक्रामक तथा उत्साही रहेको उल्लेख गरे । युवामा रहेको यही ऊर्जा र सक्रियतालाई सही दिशामा उपयोग गर्न सके नयाँ सम्भावना सिर्जना हुने उनको भनाइ थियो ।

झाले नयाँ व्यावसायिक विचार प्राप्त गर्न र त्यसलाई परिष्कृत बनाउन धेरैभन्दा धेरै मानिससँग जोडिनुपर्नेमा जोड दिए । विभिन्न क्षेत्रका व्यक्ति, उद्यमी तथा विज्ञसँगको अन्तरक्रियाले नयाँ सोच विकास गर्न र स्टार्टअपका सम्भावित अवसर पहिचान गर्न सहयोग पुग्ने उनले बताए ।

त्यस्तै, स्टार्टअप सुरु गर्दा ग्रामीण र सहरी क्षेत्रको आवश्यकता तथा परिवेश फरक हुने भएकाले दुवै क्षेत्रका लागि एउटै प्रकारको व्यावसायिक विचार उपयुक्त नहुने उनले उल्लेख गरे । ग्रामीण र सहरी क्षेत्रका समस्या, आवश्यकता र उपलब्ध स्रोत साधनलाई बुझेर सोहीअनुसार फरकफरक व्यावसायिक अवधारणा विकास गर्नुपर्ने उनको सुझाव थियो ।

उनका अनुसार स्टार्टअपले सफल हुन बजारको आवश्यकता पहिचान गर्नुका साथै आफ्नो विचारलाई व्यवहारमा उतार्न सक्ने क्षमता विकास गर्नुपर्छ । नयाँ विचारको खोजी, आपसी सहकार्य र निरन्तरको प्रयासले मात्रै उद्यमशीलताको यात्रालाई दिगो बनाउन सकिने उनको धारणा थियो ।

आइसिटी आइडिया फेस्ट २०२६ मा स्टार्टअप संस्थापक, युवा उद्यमी, लगानीकर्ता तथा प्रविधि क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ । फेस्टले नेपाली स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ व्यावसायिक विचार र सम्भावनालाई एकअर्कासँग जोड्ने अवसर प्रदान गरिरहेको छ ।