काठमाडौं । जाभा प्रोग्रामिङ भाषा र एन्जिनक्स वेब सर्भरमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकाय तथा प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत सुरक्षा चेतावनी जारी गरेको हो ।
केन्द्रका अनुसार जाभामा ‘जाभाफोरशेल’ र एन्जिनक्समा ‘एन्जिनक्सटुरुट’ नामका दुई प्रकारका सुरक्षा कमजोरी पहिचान भएका छन् । सन् २०२६ को नोभेम्बरमा सार्वजनिक भएका यी कमजोरीले जाभाको सञ्चालन वातावरण तथा विकास उपकरण र एन्जिनक्स वेब सर्भरमा जोखिम निम्त्याउन सक्छन् ।
यी सुरक्षा कमजोरीको फाइदा उठाएर साइबर आक्रमणकारीले प्रभावित प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न, विभिन्न निर्देशन सञ्चालन गर्न तथा सेवा अवरुद्ध गराउन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ । कतिपय अवस्थामा प्रणालीमाथि पूर्ण नियन्त्रणसमेत कायम गर्न सकिने खतरा रहेको चेतावनीमा उल्लेख छ ।
प्राविधिक विवरणअनुसार जाभामा देखिएको कमजोरी तथ्याङ्क रूपान्तरण प्रक्रियासँग सम्बन्धित छ । यसको दुरुपयोग भएमा विशेष प्रकारका यन्त्र तथा प्रणालीमा टाढैबाट अनधिकृत निर्देशन सञ्चालन गर्न सकिने वा सम्बन्धित अनुप्रयोग नै बन्द हुन सक्ने जोखिम रहन्छ ।
त्यस्तै, एन्जिनक्स वेब सर्भरको स्मृति व्यवस्थापन प्रक्रियामा पाँचवटा गम्भीर सुरक्षा त्रुटि फेला परेका छन् । यी कमजोरीको दुरुपयोगबाट आक्रमणकारीले एन्जिनक्सको कार्य प्रक्रियालाई प्राप्त अधिकार प्रयोग गरी प्रणालीमा अनधिकृत निर्देशन सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ ।
आईसीटी समाचार