काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सहित डिजिटल प्रविधिको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीनले राष्ट्रिय डेटा व्यावसायिक शिक्षा निर्देशन समिति गठन गर्ने भएको छ । चीनले सोमबार डेटा क्षेत्रका लागि दक्ष जनशक्ति विकाससम्बन्धी विभिन्न कार्ययोजना पनि सार्वजनिक गरेको छ ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार राष्ट्रिय डेटा प्रशासन (एनडीए) र शिक्षा मन्त्रालयको नेतृत्वमा उक्त समिति गठन गरिनेछ । समितिले डेटा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षण प्रणाली सुधार, उद्योगको जनशक्ति मागसम्बन्धी अध्ययन, व्यावसायिक शैक्षिक कार्यक्रम विकास, उद्योग र शिक्षाबीच समन्वय तथा अन्तर्राष्ट्रिय आदान प्रदानलगायतका विषयमा काम गर्नेछ ।
सन् २०३० सम्ममा एआई युगको आवश्यकताअनुसारको जनशक्ति उत्पादन प्रणाली विकास गर्ने चीनको लक्ष्य छ । यसका लागि डेटा विषय अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी व्यावसायिक शिक्षाका मापदण्ड, पाठ्यक्रम सामाग्री र शिक्षक तालिमको व्यवस्थित प्रणाली निर्माण गरिने जनाइएको छ ।
एआई तथा अन्य डिजिटल प्रविधि उत्पादनमूलक उद्योगसहित विभिन्न क्षेत्रमा तीव्र रूपमा समावेश भइरहेका बेला चीनले डिजिटल जनशक्ति विकासलाई प्राथमिकता दिएको हो । उद्योगको वास्तविक आवश्यकता र शैक्षिक प्रणालीबीच समन्वय गर्दै डेटा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु यस पहलको मुख्य उद्देश्य रहेको विज्ञहरूले बताएका छन् ।
चीनको युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सअन्तर्गत चाइना ओपन इकोनोमी स्टडिज एकेडेमीका प्राध्यापक ली चाङआनका अनुसार डिजिटल अर्थतन्त्रमा डेटा उत्पादनको महत्त्वपूर्ण कारक बनेको छ भने डेटा क्षेत्रमा दक्ष जनशक्ति औद्योगिक विकासको आधार हो ।
उनले चीनमा हाल डेटा क्षेत्रको जनशक्ति भण्डार र शैक्षिक प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल अर्थतन्त्रको आवश्यकताअनुसार पर्याप्त विकसित हुन नसकेको बताए । डिजिटल अर्थतन्त्रको दिगो विकासका लागि व्यावसायिक शिक्षा र तालिमलाई सुदृढ बनाउँदै उद्योगको मागअनुसारका दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
लीका अनुसार उद्योग र शिक्षाबीचको समन्वयलाई गहिरो बनाउँदा कम्पनी तथा औद्योगिक क्षेत्रको वास्तविक आवश्यकता बुझेर गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिन्छ । यसले औद्योगिक स्तरोन्नतिमा सहयोग पुर्याउनुका साथै व्यावसायिक शिक्षाको विकासलाई समेत गति दिनेछ ।
समितिको सचिवालय राष्ट्रिय डेटा प्रशासनको डिजिटल प्रविधि तथा पूर्वाधार निर्माण विभागमा रहनेछ । समितिको कार्यकाल सन् २०२६ देखि २०३० को अन्त्यसम्म कायम रहनेछ ।
नानकाई विश्वविद्यालयको आर्थिक अनुसन्धान संस्थानका निर्देशक लिउ गाङले यस व्यवस्थाले दुई सरकारी निकायबीचको समन्वयात्मक प्रयासलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।
उनका अनुसार डेटा नियामक निकायले डेटा सेट निर्माण, डेटा लेबलिङ केन्द्र स्थापना तथा डेटा तत्त्वको बजारमुखी विनियोजनजस्ता काम गर्दै आएको छ । त्यसैले डेटा व्यावसायिक शिक्षाको प्रवर्द्धनमा यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।
अर्कोतर्फ, शिक्षा मन्त्रालयले व्यावसायिक शिक्षा र समग्र जनशक्ति विकास प्रणालीको जिम्मेवारी सम्हाल्दै आएको छ । यी दुई निकायबीचको सहकार्यले उद्योगको जनशक्ति माग र शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्तिबीचको दूरी कम गर्न सहयोग पुग्ने लिउको भनाइ छ ।
उनले राष्ट्रिय डेटा प्रशासनसँग औद्योगिक क्षेत्रमा डेटाको प्रयोगसम्बन्धी सम्भावना पहिचान गर्ने, विभिन्न क्षेत्रका स्रोत परिचालन गर्ने तथा विश्वसनीय डेटा स्पेस निर्माणलाई प्रवर्द्धन गर्ने विशेष क्षमता रहेको बताए । यसले व्यावसायिक शिक्षाका लागि व्यावहारिक तालिम केन्द्र र प्रयोगात्मक अभ्यासका अवसर उपलब्ध गराउन सक्नेछ ।
त्यस्तै, शिक्षा निकायले औद्योगिक आवश्यकताअनुसार पाठ्यपुस्तक, पाठ्यक्रम र शिक्षक तालिम कार्यक्रम विकास गरी जनशक्ति उत्पादनलाई थप प्रभावकारी बनाउन सक्ने उनको भनाइ छ ।
लिउका अनुसार विश्वविद्यालय तथा कलेजमा डेटा क्षेत्रको जनशक्ति विकासलाई मुख्यत: अनुसन्धानमुखी, प्रयोगमुखी र सीपमुखी गरी तीन वर्गमा विभाजन गर्न सकिन्छ । तर यी तीनै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । विशेष गरी प्रयोगमुखी र सीपमा आधारित जनशक्तिको अभाव बढी देखिएको छ ।
उनले यस्तो अभावले चीनको आर्थिक विकास र औद्योगिक प्रतिस्पर्धात्मक क्षमतामा समेत असर पार्न थालेको बताए । मध्य चीनको हेनान प्रान्तलाई उदाहरण दिँदै उनले त्यहाँ सुपरहार्ड सामाग्री र कृत्रिम हिरा उत्पादनको बलियो औद्योगिक आधार रहेको उल्लेख गरे ।
उत्पादन प्रक्रिया र उपकरणहरू क्रमश: स्वचालित तथा बौद्धिक बन्दै जाँदा ती उद्योगमा एआई र अन्य डिजिटल प्रविधिको ज्ञान भएका जनशक्तिको माग बढिरहेको छ । तर यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने तालिम तथा शैक्षिक कार्यक्रम अझै प्रारम्भिक चरणमा छन् । व्यावसायिक पाठ्यक्रम, पाठ्यपुस्तक र जनशक्ति उत्पादनका संरचनामा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
लिउका अनुसार उत्कृष्ट प्रयोगमुखी र सीपमुखी शैक्षिक संस्था बजार, उद्योग र रोजगारीको आवश्यकतालाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्छ । उद्योगमा देखिएका वास्तविक समस्यालाई शिक्षण सामग्रीमा समेट्ने र अनुसन्धान तथा नवप्रवर्तनका आवश्यकतालाई जनशक्ति विकासको दिशाका रूपमा अघि बढाउने काम व्यावसायिक शिक्षाले गर्नुपर्ने उनको भनाइ छ ।
उनले डिजिटल जनशक्ति विकासका वर्तमान अभ्यासले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन र औद्योगिक नवप्रवर्तनबीचको गहिरो एकीकरणलाई प्रतिबिम्बित गर्ने बताए । राष्ट्रिय निर्देशन समिति गठन भएपछि यस प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
चीनले डेटा क्षेत्रमा जनशक्ति विकासलाई प्राथमिकता दिनुको पछाडि यसको तीव्र विस्तार पनि प्रमुख कारणका रूपमा रहेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा चीनको डेटा उद्योगको आकार ६.७८ ट्रिलियन युआन (करिब १.०१ ट्रिलियन अमेरिकी डलर) पुगेको थियो । यो अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशतले बढी हो ।
त्यस्तै, सन् २०२६ अगस्टसम्म चीनले १ लाख २६ हजारभन्दा बढी उच्च गुणस्तरका डेटा सेट निर्माण गरिसकेको थियो । सन् २०२५ को अन्त्यसम्म डेटा क्षेत्रसँग सम्बन्धित कम्पनीको सङ्ख्या ४ लाख ८२ हजार पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो ।
पिपुल्स डेलीका अनुसार चीनको डिजिटल अर्थतन्त्रमा दक्ष जनशक्तिको अभाव सन् २०२४ को अन्त्यसम्म ३ करोड २० लाखभन्दा बढी पुगेको थियो । सन् २०२५ को अन्त्यसम्म पनि यस्तो अभाव करिब ३ करोड रहने अनुमान गरिएको थियो ।
विज्ञहरूका अनुसार उच्च योग्यता भएका बहुविषयगत जनशक्ति र व्यावहारिक सीप भएका दक्ष कामदारको अभाव डेटा तत्त्वको बजारमुखी विनियोजनलाई अघि बढाउन मुख्य चुनौती बनेको छ ।
चीनले डेटा शिक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाँदा बहुविषयगत ज्ञान, नवप्रवर्तन क्षमता र व्यावहारिक सीप भएका डिजिटल जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ । यसले डेटालाई उत्पादनको महत्त्वपूर्ण साधनका रूपमा उपयोग गर्न तथा डिजिटल अर्थतन्त्रको गुणस्तरीय विकासलाई गति दिन सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ ।
आईसीटी समाचार