काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रयोग गरी विदेशबाट कल गर्दा लाग्ने पल्स दर (Retail Pulse Duration) मा परिमार्जन गरेको छ । कम्पनीले विभिन्न ६० देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स दर कायम राख्ने निर्णय गरेको जनाएको छ ।
नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि ३० सेकेन्डको पल्स दर कायम रहेका देशहरूमा अब ६० सेकेन्डको पल्स दर कायम गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय रोमिङ सेवामार्फत कल गर्दा ग्राहकले थप सहजता पाउने कम्पनीको अपेक्षा छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त स्वीकृति तथा मिति २०८३/०२/२४ को निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको नेपाल टेलिकमले जनाएको छ ।
त्यस्तै, यसअघि ५८ देशमा मात्रै लागू रहेको ६० सेकेन्डको पल्स दर अब बाँकी देशहरूमा समेत विस्तार गरिने भएको छ । कम्पनीका अनुसार आगामी २०८३ मंसिर ८ गतेदेखि ती देशहरूमा पनि नयाँ पल्स दर लागू हुनेछ ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्न ग्राहकले सम्बन्धित देशको एक्सेस कोड र त्यसपछि आफूले सम्पर्क गर्न चाहेको सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ ।
विभिन्न देशमा कल गर्न लाग्ने दरसम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले अन्तर्राष्ट्रिय रोमिङ तथा कल सेवा थप सहज बनाउने उद्देश्यले पल्स दरमा परिमार्जन गरेको जनाएको छ ।
आईसीटी समाचार