कीवर्डहरू -

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर तथा इनोभेसन हब स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपालका युवाको क्षमता, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न भारतले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली युवामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उनले उनीहरूको आकांक्षा पूरा गर्न भारत साझेदार बन्न तयार रहेको बताए ।

यस योजनाअन्तर्गत नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गर्नुका साथै स्टार्टअप प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने पूर्वाधार विकास गरिनेछ । यसले नेपालमा प्राविधिक शिक्षा, अनुसन्धान, उद्यमशीलता र नयाँ प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, भारतले नेपाली विद्यार्थीका लागि आफ्नो देशमा उच्च शिक्षा हासिल गर्न उपलब्ध गराउँदै आएको छात्रवृत्तिको दायरा विस्तार गर्ने भएको छ । विशेष गरी कानुन र प्रविधि विषयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई थप छात्रवृत्तिका अवसर उपलब्ध गराउने मोदीले बताएका छन् ।

प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणपत्रमा शिक्षा, प्रविधि, नवप्रवर्तन र युवा विकाससम्बन्धी सहकार्यलाई प्राथमिकताका साथ समेटिएको छ । मोदीले यी पहललाई विकसित भारत र समुन्नत नेपालको साझा लक्ष्य प्राप्त गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।

यसैबीच, नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिकीकरणका लागि कृषि औद्योगिक पार्क स्थापना गर्न पनि भारतले सहयोग गर्ने भएको छ । कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि तथा औद्योगिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले अघि सारिएको यस योजनाले कृषि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

दुई देशबीच चलचित्र, आधुनिक प्रविधि तथा नयाँ सञ्चारमाध्यममा युवा सिर्जनाकर्ताबीच सहकार्य विस्तार गर्ने विषयमा समेत सहमति भएको छ । यस्ता सहकार्यले सिर्जनात्मक उद्योग र डिजिटल सामाग्री उत्पादनको क्षेत्रमा दुवै देशका युवालाई जोड्ने अपेक्षा गरिएको छ ।

खेलकुद क्षेत्रको सहकार्यलाई पनि भारतले प्राथमिकतामा राखेको छ । विशेष गरी क्रिकेट पूर्वाधार विकास र नेपाली खेलाडीको प्रशिक्षणमा सहयोग गर्ने मोदीले बताएका छन् ।