कीवर्डहरू -

एनटी फाइबरको माग बढ्दो, टेलिकमद्वारा प्राविधिक तयारी तीव्र

एनटी फाइबरको माग बढ्दो, टेलिकमद्वारा प्राविधिक तयारी तीव्र

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एफटीटीएच (फाइबर टु द होम) मा आधारित ‘एनटी फाइबर’ सेवाप्रति सेवाग्राहीको आकर्षण र माग बढेपछि कम्पनीले यसको व्यवस्थापन तथा जडान कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।

एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा प्राप्त गर्न सकिने भएकाले एनटी फाइबरप्रति प्रयोगकर्ताको विश्वास बढेको टेलिकमले जनाएको हो । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले कतिपय कार्यालयमा सेवा जडानको माग अत्याधिक बढेपछि कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुदृढीकरणको कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

मागअनुसार सेवा जडान गर्न र आपूर्ति शृंखला अवरुद्ध हुन नदिन कम्पनी अहोरात्र प्रयासरत रहेको लामिछानेले विज्ञप्ति निकालेर जनाएका छन् । सरकारी स्वामित्वको संस्था भएकाले आपूर्ति व्यवस्थापनमा विधिवत प्रक्रिया अवलम्बन गर्दै निरन्तर सेवा प्रवाह गर्ने कार्य भइरहेको टेलिकमले स्पष्ट पारेको छ ।

सेवाग्रहीको बढ्दो चासोले सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा थप ऊर्जा मिलेको बताउँदै टेलिकमले मागअनुसार सेवा जडान गर्दै गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । साथै सेवा विस्तारको यात्रामा सेवाग्राहीले देखाएको साथ सहयोग र धैर्यप्रति कम्पनीले आभार प्रकट गरेको छ ।