कीवर्डहरू -

नेपाल-भारतबीच एआई र उदाउँदो प्रविधिमा सहकार्य विस्तार, काठमाडौंमा विशेष सेमिनार

नेपाल-भारतबीच एआई र उदाउँदो प्रविधिमा सहकार्य विस्तार, काठमाडौंमा विशेष सेमिनार

काठमाडौं । नेपाल र भारतबीच उदाउँदा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौंमा एक विशेष सेमिनार आयोजना गरिएको छ ।

नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआईसीसीआई) को संयुक्त आयोजनामा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी: एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार सम्पन्न भएको हो । कार्यक्रममा दुवै देशका सरकारी प्रतिनिधि, व्यवसायी, प्राज्ञिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सेमिनारमा भारत एआई मिसन अन्तर्गत २४६.७२ करोड भारतीय रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सफल ‘सर्वम एआई’ का सह–संस्थापक एवं सीईओ डा. प्रत्युष कुमारले मुख्य कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सुनील केसीले नेपाल–भारतबीच प्रविधिमा आधारित आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भारतीय एआई कम्पनीहरूलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र सार्वजनिक तथा निजी क्षेत्रसँग साझेदारी गर्न आह्वान गरे ।

भारतीय दूतावासका वाणिज्य उपसचिव सुमन शेखरले नेपाल–भारतबीचको बलियो आर्थिक सम्बन्धको चर्चा गर्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप सहयोग तथा प्रविधि आदान–प्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रमको दोस्रो संस्करण जुन १, २०२६ देखि सुरु भइसकेको जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत नेपालका २५ वटा स्टार्टअपहरू चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजी फाउन्डेसनमा आठ हप्ते पूर्ण–वित्तपोषित प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रममा सहभागी भइरहेका छन् । यसअघि पहिलो संस्करणमा सहभागी ९ वटा नेपाली स्टार्टअपले इन्क्युबेसन अवसर प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा डा. प्रत्युष कुमारले ठूला भाषा मोडेल (एलएलएम) सहित एआई प्रविधिको विकास र यसको सम्भावित प्रभावबारे प्रस्तुति दिएका थिए । उनले भारत एआई मिसनका सात प्रमुख स्तम्भ कम्प्युट, डाटासेट, इनोभेसन, एप्लिकेसन विकास, भविष्यका सीप, स्टार्टअप वित्तपोषण र सुरक्षित तथा विश्वसनीय एआई बारे जानकारी दिए ।

उनले प्रविधिको पहुँच नपुगेका समुदायसम्म एआई सेवा पुर्‍याउन ‘स्पीच टु टेक्स्ट’ प्रविधिको महत्त्व, डाटा सार्वभौमसत्ता तथा स्थानीय प्रतिभा विकासमा जोड दिए । साथै, नेपाल–भारतबीच संयुक्त अनुसन्धान र तालिम कार्यक्रममार्फत सहकार्यलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिए ।

यसैबीच, प्रविधि क्षेत्रमा दुई देशबीचको सहकार्य थप सुदृढ हुने क्रममा भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी) र काठमाडौं विश्वविद्यालयको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड एआईबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताले ल्याङ्ग्वेज एआई, बहुभाषिक डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा समावेशी डिजिटल इकोसिस्टम विकासमा सहकार्य गर्ने रूपरेखा तयार गर्नेछ ।यसअघि फेब्रुअरी १६ देखि २१, २०२६ सम्म नयाँ दिल्लीमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’ मा १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

उक्त सम्मेलनले जिम्मेवार एआई सुशासनसम्बन्धी विश्वव्यापी सहमति, घोषणापत्र तथा ठूलो लगानी प्रतिबद्धता हासिल गरेको थियो । त्यस अवसरमा भारतले आफ्नो राष्ट्रिय एआई कम्प्युट क्षमतामा ३८ हजार जीपीयूमा थप २० हजार जीपीयू विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको थियो ।