कीवर्डहरू -

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को सम्पूर्ण तयारी पूरा भएकाे छ । वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’मा विशेष वर्डप्रेस ट्रेनिङ रहनेछ, जसले सहभागीहरूलाई वर्डप्रेसको क्षेत्रमा करियर सुरु गर्ने स्पष्ट मार्ग देखाउनेछ । यसका साथै, सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गर्ने खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्‍याउने अवसर पाउनेछन् ।

कोर कोडिङ, अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षण र सुरक्षा जस्ता विषयमा अन्तर्राष्ट्रिय मेन्टरहरूसँग काम गर्दै प्राविधिक सिप तिखार्न र आफ्नो प्रोफाइललाई विश्वस्तरीय बनाउन यो नवप्रवेशी तथा अनुभवी सबैका लागि फलदायी हुनेछ ।

सम्मेलनको दोस्रो दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अटोमेसन र आधुनिक वेब विकासका साथै व्यावसायिक रणनीतिका विविध पक्षहरूमा केन्द्रित ३० भन्दा बढी प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् ।

नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूबाट सहभागीहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, युआई-युएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा आर्जन गर्ने भन्ने जस्ता विभिन्न प्रकारका तालिम र ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन् ।

नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, युआई-युएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा आर्जन गर्ने भन्ने व्यावहारिक रणनीतिहरू सिकाउनेछन् ।

यस पटकको कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरूका लागि रोजगारी, इन्टर्नसिप र उद्यमशीलताको ढोका खोल्नेछ । ब्लुहोस्ट, होस्टिङ डटकम, जेटप्याक र एलिमेन्टरजस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको प्रत्यक्ष सहभागिता रहने भएकाले सहभागीहरूले अन्तर्राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू पहिल्याउन सक्ने आयोजकको भनाइ छ ।