काठमाडौं । खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडको अनलाइन प्लेटफर्ममा साइबर आक्रमण हुँदा १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन् । आक्रमणकारीले ओपनकोड कन्सोलमा भण्डारण गरिएका एपीआई कीमा पहुँच पाएको आशङ्का गरिएको छ । यस घटनापछि केही प्रयोगकर्ताको खातामा सयौँदेखि एक हजार डलरभन्दा बढी रकमसम्म अनधिकृत खर्च भएको गुनासो सार्वजनिक भएको छ ।
क्लाउड कोड र कर्सरजस्ता एआई कोडिङ टुलको विकल्पका रूपमा प्रयोग हुँदै आएको ओपनकोडले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो पुरानो प्रणालीमा सुरक्षा उल्लङ्घन भएको जानकारी दिएको हो । कम्पनीका अनुसार उक्त घटना ठूलो स्तरमा एआई मोडेलबाट आउटपुट निकाल्ने अर्थात् ‘डिस्टिलेसन’ गतिविधिसँग सम्बन्धित थियो ।
ओपनकोडले प्रभावित प्रयोगकर्तालाई शनिबार बिहानै इमेल पठाएर घटनाबारे जानकारी गराएको जनाएको छ । कम्पनीका अनुसार सूचना नपाएका प्रयोगकर्ता यस घटनाबाट प्रभावित भएका छैनन् ।
एपीआई की चुहिँदा बढ्यो अनधिकृत खर्चको जोखिम
एपीआई की भनेको कुनै एप्लिकेसन वा सेवाले अर्को प्लेटफर्मको सुविधा प्रयोग गर्न अनुमति दिने डिजिटल प्रमाणपत्र हो । एआई सेवामा यस्ता की प्रयोग गरेर मोडेलमा पहुँच प्राप्त गर्न र त्यसबाट आउटपुट उत्पादन गर्न सकिन्छ । ती की गलत व्यक्तिको हातमा पुगेमा सम्बन्धित खाताबाट अनधिकृत अनुरोध पठाउन र प्रयोगकर्ताको खातामा शुल्क लाग्ने जोखिम हुन्छ ।
टेकक्रञ्चका अनुसार सुरक्षा उल्लङ्घनपछि विकासकर्ताहरूले रेडिट र एक्समा आफ्नो एआई सेवाको खर्चसम्बन्धी चेतावनी एकैपटक आएको तथा आफूले अनुमति नदिएका शुल्क देखिएको गुनासो गरेका थिए ।
एक विकासकर्ताले सुत्नुअघि ओपनएआई, एन्थ्रोपिक र गुगल एआईका खर्चसम्बन्धी चेतावनी एकैपटक आएको उल्लेख गर्दै घटनाबारे आश्चर्य व्यक्त गरेका थिए । अन्य प्रयोगकर्ताले आफ्नो खातामा सयौँ डलर खर्च भएको बताएका थिए भने केहीले एक हजार डलरभन्दा बढीको अनधिकृत शुल्क लागेको दाबी गरेका थिए ।
यस घटनामा एन्थ्रोपिक र गुगलले चुहावट भएको आशङ्का गरिएका एपीआई की निष्क्रिय पारेका छन् । ओपनएआईले भने आक्रमणमा प्रयोग भएका क्रेडिटसँग सम्बन्धित समस्या समाधान गर्न ओपनकोडसँग सहकार्य गरिरहेको जनाएको छ । ओपनकोडले पनि अनधिकृत शुल्क फिर्ता गर्ने प्रक्रिया सुरु भएको बताएको छ ।
डिस्टिलेसन आक्रमण भएको दाबीमा प्रश्न
ओपनकोडले घटनालाई ठूलो स्तरको डिस्टिलेसन आक्रमणसँग जोडेको भए पनि आक्रमण कसरी भयो र यसको उद्देश्य के थियो भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
एआई डिस्टिलेसन भनेको ठूलो वा शक्तिशाली एआई मोडेलबाट प्राप्त नतिजा तथा अन्य प्रशिक्षण सामाग्रीको सहायताले सानो वा अर्को मोडेललाई सिकाउने प्रक्रिया हो । यसका लागि ठूलो मात्रामा एआई आउटपुट आवश्यक पर्न सक्छ । एपीआई की अनधिकृत व्यक्तिको हातमा पुगेमा त्यस्तो आउटपुट उत्पादन गर्न सहज हुन सक्छ ।
तर केही आलोचकले यस घटनालाई डिस्टिलेसन आक्रमण भन्नु हतार हुने बताएका छन् । उनीहरूका अनुसार एपीआई की चोरी हुनु र ती की प्रयोग गरेर एआई मोडेलको डिस्टिलेसन गर्नु फरक विषय हुन् । उपलब्ध विवरणले आक्रमणको वास्तविक उद्देश्य पुष्टि गर्न नसकेको उनीहरूको तर्क छ ।
ओपनकोडको मूल टुल भने सुरक्षित रहेको दाबी
ओपनकोडका सहसंस्थापक ड्याक्स राडले यो घटना कम्पनीको अनलाइन सेवा ओपनकोड कन्सोलमा सीमित रहेको स्पष्ट पारेका छन् । उनका अनुसार खुला स्रोतको एप्लिकेसन र कमान्ड लाइन टुल यसबाट प्रभावित भएका छैनन् ।
उनले एक्समा कन्सोल र मूल ओपनकोड टुलबीच भिन्नता रहेको उल्लेख गर्दै एपीआई कीहरू मूल टुलमा नरहने बताएका छन् । यसले घटनाको प्रभाव कम्पनीको सम्पूर्ण सफ्टवेयरमा नभई कन्सोलमा राखिएका प्रयोगकर्ताका एपीआई की र तिनमा निर्भर सेवामा केन्द्रित रहेको सङ्केत गर्छ ।
४८ घण्टासम्म आक्रमणको प्रयास, एआई सुरक्षा टुलमै अवरोध
राडका अनुसार आक्रमणकारीले करिब ४८ घण्टासम्म कम्पनीको प्रणालीमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसको सामना गर्न ओपनकोडको टोलीले एआईमा आधारित सुरक्षा एजेन्टहरू चौबीसै घण्टा सञ्चालन गर्नुपरेको थियो । तर आक्रमणको विश्लेषण गर्न प्रयोग गरिएका केही एआई मोडेलले पछि सहयोग गर्न अस्वीकार गरे ।
टोलीले अनुसन्धानका लागि उपलब्ध गराएको हानिकारक कोडले मोडेलका सुरक्षा फिल्टर सक्रिय गराएपछि यस्तो समस्या आएको राडले बताएका छन् । उनका अनुसार यो अवस्था केही निराशाजनक थियो । पछि ओपनकोडले ओपनएआईको ‘डेडब्रेक ब्लु’ कार्यक्रमअन्तर्गत पहुँच प्राप्त गर्यो ।
उक्त कार्यक्रमले प्रमाणित प्रयोगकर्तालाई साइबर सुरक्षा प्रतिरक्षासम्बन्धी काममा सहयोग गर्न सुरक्षा प्रतिबन्धका कारण अनुरोध अस्वीकार हुने सम्भावना कम भएका मोडेल उपलब्ध गराउँछ । राडका अनुसार यस पहुँचले टोलीलाई आक्रमणको अनुसन्धान अघि बढाउन सहयोग गरेको थियो ।
एआईबाट हुने आक्रमणको प्रतिरक्षामा नयाँ चुनौती
एआई प्रणालीलाई साइबर सुरक्षा अनुसन्धानमा प्रयोग गर्दा उपयोगी नतिजा प्राप्त गर्न सकिए पनि हानिकारक कोड वा आक्रमणसम्बन्धी सामाग्रीसँग काम गर्दा मोडेलका सुरक्षा प्रतिबन्धले अनुसन्धानमा अवरोध सिर्जना गर्न सक्छन् । अर्कोतर्फ, यस्ता मोडेलको अनधिकृत प्रयोग रोक्नु पनि एआई कम्पनीका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
ओपनकोडको घटना एआईमा आधारित सुरक्षा अनुसन्धान र दुरुपयोग रोक्ने संयन्त्रबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको उदाहरण बनेको छ । यसअघि जुलाईमा एआई प्लेटफर्म हगिङ फेसले पनि स्वचालित एआई एजेन्टबाट भएको घुसपैठको गतिविधिसम्बन्धी लग विश्लेषण गर्दा व्यावसायिक एआई मोडेलले अवरोध सिर्जना गरेको जनाएको थियो ।
पछि ओपनएआईले ती आक्रमणमा परीक्षणका क्रममा सुरक्षा व्यवस्था कमजोर पारिएका आफ्ना एआई मोडेल प्रयोग भएको खुलासा गरेको थियो । ओपनकोडको पछिल्लो घटनाले एआई विकासका लागि प्रयोग हुने डिजिटल प्रमाणपत्रको सुरक्षा, अनधिकृत खर्च नियन्त्रण र साइबर आक्रमणको अनुसन्धानमा एआई मोडेलको विश्वसनीय पहुँच सुनिश्चित गर्नु कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ ।
आईसीटी समाचार