काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा प्रविधि विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् ।
एआई क्षेत्रका प्रख्यात अनुसन्धाता जेफ्री हिन्टन र योशुआ बेंगियोसहित करिब ४०० वैज्ञानिक तथा विज्ञले मंगलबार सार्वजनिक गरेको खुला पत्रमार्फत उन्नत एआई प्रणालीको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरमा साझा मापदण्ड र पारदर्शी अनुगमन प्रणाली विकास गर्न आह्वान गरेका हुन् ।
उनीहरूका अनुसार प्रस्तावित अन्तर्राष्ट्रिय संस्थाले एआई उद्योगका लागि सुरक्षा मापदण्ड निर्धारण गर्नुका साथै एआईसँग सम्बन्धित गम्भीर सुरक्षा घटनाको व्यवस्थित अभिलेख राख्नुपर्नेछ । त्यस्ता घटनासम्बन्धी विवरण क्रमश: सर्वसाधारणको पहुँचमा समेत उपलब्ध गराउनुपर्ने उनीहरूको सुझाव छ ।
खुला पत्रमा अत्याधुनिक एआई मोडेल विकासको प्रारम्भिक चरणमै रहँदा तिनलाई बाह्य सञ्जालबाट अलग राख्न र स्वतन्त्र रूपमा सुरक्षा परीक्षण तथा अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । प्रविधि कम्पनीहरूले स्वेच्छाले अपनाउने सुरक्षा प्रतिबद्धताले मात्रै एआईका सम्भावित जोखिम नियन्त्रण गर्न नसक्ने वैज्ञानिकहरूको तर्क छ ।
यसअघि एक महिनाअघि एन्थ्रोपिक, ओपनएआई, गुगल, मेटा, एक्सएआई र एनभिडियालगायत प्रमुख प्रविधि कम्पनीहरूले अमेरिकी ह्वाइट हाउससँग एआई सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यद्यपि, उक्त सम्झौतामा सुरक्षा उपायहरू उल्लेख भएपनि तिनको कार्यान्वयन अनिवार्य गराउने प्रभावकारी संयन्त्र नरहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । स्वैच्छिक प्रतिबद्धतामा मात्रै निर्भर रहँदा एआईबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिम नियन्त्रण गर्न कठिन हुने उनीहरूको निष्कर्ष छ ।
त्यसैले उन्नत एआई प्रविधिको सुरक्षित विकास, सम्भावित जोखिमको समयमै पहिचान र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अधिकारसम्पन्न अन्तर्राष्ट्रिय निकाय आवश्यक रहेको उनीहरूले औँल्याएका छन् ।
आईसीटी समाचार