काठमाडौं । फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दैनिक भुक्तानी सहज बनाउने उद्देश्यले डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ । यस एपमार्फत अन्तर्राष्ट्रिय पर्यटकले नेपालको विस्तृत क्यूआर भुक्तानी सञ्जालमा पहुँच प्राप्त गरी देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन् ।
नेपालको डिजिटल भुक्तानी प्रणाली निरन्तर विस्तार भइरहेको सन्दर्भमा ‘नेपाल नाउ’ले अन्तर्राष्ट्रिय पर्यटकलाई पनि क्यूआर भुक्तानीको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले पर्यटकलाई नेपाली उपभोक्तासरह सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्षम बनाउनेछ ।
‘नेपाल नाउ’ एपमा पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी दर्ता गर्न सक्नेछन् । दर्ता प्रक्रिया पूरा गरेपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम लोड गर्न सकिनेछ । त्यसपछि एपमार्फत फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।
यस सुविधाले नेपाल भ्रमणका क्रममा दैनिक कारोबारका लागि नगदमै निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै भुक्तानी प्रक्रियालाई थप सहज र सरल बनाउने अपेक्षा गरिएको छ । ‘नेपाल नाउ’ सार्वजनिक गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालको डिजिटल भुक्तानी प्रणालीको सुविधा अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले भने, “नेपाल नाउमार्फत हामी नेपालको डिजिटल भुक्तानी प्रणालीको सुविधा अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्दैछौँ । नेपालले क्यूआर भुक्तानीको क्षेत्रमा व्यापक सञ्जाल निर्माण गरिसकेको छ र अब यो पूर्वाधारलाई विश्वभरबाट नेपाल आउने पर्यटकका लागि पनि सहज रूपमा उपलब्ध गराउने अवसर हामीले देखेका छौँ । हाम्रो उद्देश्य पर्यटकका दैनिक भुक्तानीलाई सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिने थप अवसर सिर्जना गर्नु हो ।”
‘नेपाल नाउ’को सुरुवात फोनपेको डिजिटल भुक्तानी पहुँच विस्तार गर्ने र नेपाललाई डिजिटल रूपमा जोडिएको पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने निरन्तर प्रयासको अर्को महत्वपूर्ण कदम हो ।
अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको विद्यमान क्यूआर भुक्तानी प्रणालीसँग जोड्ने यस पहलले डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । ‘नेपाल नाउ’ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ ।
आईसीटी समाचार