कीवर्डहरू -

विद्यालय शिक्षामा आमूल परिवर्तनको तयारी : एआई, डिजिटल प्रविधि र सीपमूलक सिकाइमा जोड

विद्यालय शिक्षामा आमूल परिवर्तनको तयारी : एआई, डिजिटल प्रविधि र सीपमूलक सिकाइमा जोड

काठमाडौं । विद्यालय तहको शिक्षालाई समयसापेक्ष, व्यावहारिक र जीवनोपयोगी बनाउने उद्देश्यसहित सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाएको छ । प्रस्तावित सुधारमा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, सीपमा आधारित शिक्षा, स्वास्थ्य, खेलकुद र नैतिक शिक्षालाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ ।

‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ पुनरावलोकनका क्रममा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप र जीवनमा आवश्यक क्षमतासहित विकास गर्ने विषयलाई केन्द्रमा राखिएको छ । यसअन्तर्गत विद्यालयमा ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्याससमेत लागू गर्ने अवधारणा अघि सारिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८ औँ बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायका तत्कालीन डीन प्रा. डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप परिमार्जनको काम गरिरहेको छ ।

कार्यदलका सदस्यसचिव तथा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पाठ्यक्रम सुधारका लागि व्यापक जनसहभागिता जुटाइएको छ । विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएको उहाँले जानकारी दिनुभयो । प्राप्त सुझावका आधारमा वर्तमान शैक्षिक आवश्यकता र भावी पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी नयाँ प्रारूप तयार गरिने उहाँको भनाइ छ ।

पाठ्यक्रम परिमार्जनका लागि १२ वटा विषयगत समूह बनाएर अध्ययन तथा कार्यपत्र तयार पारिएको छ । ती समूहले शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद्, विभिन्न संस्थागत निकाय तथा अन्य सरोकारवालासँग छलफल गर्नुका साथै स्थलगत अध्ययन र विद्युतीय माध्यमबाट सुझाव सङ्कलन गरेका छन् ।

नयाँ प्रारूपमा सङ्घीय शासन व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको शैक्षिक भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाको आवश्यकता, समावेशी शिक्षा र जलवायु परिवर्तनलाई समेत समेट्ने तयारी छ । यसका अतिरिक्त विपद् व्यवस्थापन, पाठ्यभारको सन्तुलन, शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार गर्ने विषय पनि प्राथमिकतामा छन् ।

शिक्षाविद्हरूले पाठ्यक्रमलाई रोजगार बजार र बदलिँदो प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले व्यावसायिक तथा रोजगारीमुखी शिक्षा, डिजिटल साक्षरता, कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोग, शिक्षकको पेसागत विकास, विद्यार्थीको करिअर मार्गदर्शन र मूल्यमा आधारित शिक्षालाई प्रभावकारी रूपमा समेट्न सुझाव दिएका छन् ।

त्यस्तै, विद्यालय शिक्षामा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र नभई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्ने सुझावसमेत प्राप्त भएको छ । खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, विद्यार्थी परामर्श, वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी गरिएको छ ।

मूल्याङ्कन प्रणालीमा सुधार पनि प्रस्तावित पाठ्यक्रम परिमार्जनको महत्वपूर्ण पक्ष बनेको छ । शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले विद्यार्थीको वास्तविक सिकाइ क्षमताको पहिचान गर्ने गरी मूल्याङ्कन प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले मूल्याङ्कनलाई समावेशी, बहुआयामिक र तनावमुक्त बनाउनुका साथै शिक्षकप्रति विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ ।

शिक्षकलाई आवश्यक तयारी, स्रोतसाधन र निरन्तर पेसागत सहयोग उपलब्ध गराउन सके मात्र पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन सम्भव हुने उहाँको धारणा छ ।केन्द्रका अनुसार पाठ्यक्रम प्रारूप परिमार्जन गर्दा सरकारी नीतिगत प्रतिबद्धता, अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास, अनुसन्धानका निष्कर्ष, विद्यमान पाठ्यक्रमको समीक्षा र सरोकारवालाबाट प्राप्त सुझावलाई आधार बनाइएको छ ।

कार्यदलले तयार पार्ने परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा आगामी चरणमा विषयगत पाठ्यक्रम निर्माण तथा तर्जुमा प्रक्रिया अघि बढाइनेछ । प्रस्तावित सुधार कार्यान्वयनमा आए विद्यालय शिक्षा प्रविधिमैत्री, सीपमुखी, समावेशी र विद्यार्थीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको बनाउने अपेक्षा गरिएको छ ।