कीवर्डहरू -

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जोडिन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

यसैबीच, राष्ट्र बैंकले सम्भावित साइबर सुरक्षा जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ । बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन निर्देशनात्मक अनुरोध गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।

पीएचपी वेब एप्लिकेसन तथा वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो । यसमा देखिने सुरक्षा कमजोरीको उचित व्यवस्थापन नभए वेबसाइट तथा त्यससँग सम्बन्धित प्रणाली अनधिकृत पहुँच र साइबर आक्रमणको जोखिममा पर्न सक्छन् ।

राष्ट्र बैंकले वेबसाइट तथा सेवाहरू पुन: सञ्चालन गर्ने समयबारे भने उक्त सूचनामा स्पष्ट जानकारी दिएको छैन ।