काठमाडौं । अनलाइन गेम बालबालिकाका लागि मनोरञ्जनसँगै सिकाइ र सामाजिक अन्तरक्रियाको माध्यम पनि बन्न थालेको छ । तर, गेम खेल्ने क्रममा साइबरबुलिङ, अपरिचित व्यक्तिसँगको सम्पर्क, अनुपयुक्त सामाग्री तथा व्यक्तिगत विवरण दुरुपयोग हुने जोखिम पनि रहन्छ ।
लामो समयसम्म गेम वा अन्य डिजिटल सामाग्रीमा व्यस्त हुँदा त्यसको बानी बस्ने सम्भावना भएकाले अभिभावकले बालबालिकाको गेमिङ गतिविधिमा उचित निगरानी राख्नु आवश्यक हुन्छ । यसका लागि केही आधारभूत नियम र सावधानी अपनाउन सकिन्छ ।
१. गेमिङका लागि समय र नियम तोक्ने
बालबालिकालाई गेम खेल्न दिनुअघि दैनिक कति समय स्क्रिन प्रयोग गर्न पाउने भन्ने स्पष्ट सीमा तोक्नुपर्छ । उमेर र रुचिअनुसार कुन प्रकारका गेम खेल्न मिल्ने र कुनबाट टाढा रहनुपर्ने भन्नेबारे पनि अभिभावकले निर्णय गर्नुपर्छ ।
गेम खेल्दा अरूसँग सभ्य व्यवहार गर्ने, व्यक्तिगत जानकारी सार्वजनिक नगर्ने तथा असहज गतिविधि देखिएमा तत्काल अभिभावकलाई जानकारी दिने जस्ता आधारभूत नियम पनि सिकाउन सकिन्छ ।
२. गेमको उमेरअनुकूलता जाँच गर्ने
बालबालिकाले खेल्ने गेम उनीहरूको उमेरका लागि उपयुक्त छ कि छैन भन्ने कुरा डाउनलोड वा प्रयोग गर्नुअघि नै हेर्नुपर्छ । यसका लागि Entertainment Software Rating Board (ESRB) वा Pan European Game Information (PEGI) ले दिएको उमेर तथा सामाग्रीसम्बन्धी रेटिङ उपयोगी हुन सक्छ ।
अभिभावकले गेमका समीक्षा पढ्नुका साथै सम्भव भए त्यसको डेमो वा गेमप्ले हेरेर सामाग्रीबारे जानकारी लिन सक्छन् । यसबाट हिंसात्मक, अनुपयुक्त वा बच्चाको उमेरअनुसार उपयुक्त नहुने सामग्री भएको गेमबाट उनीहरूलाई टाढा राख्न सजिलो हुन्छ ।
३. बच्चाको गेमिङ गतिविधिमा चासो राख्ने
बालबालिकाले कस्तो गेम खेलिरहेका छन् भन्ने थाहा पाउन अभिभावकले उनीहरूको गेमिङ गतिविधिलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन । समय समयमा उनीहरूसँगै गेम खेलेर त्यसको अनुभव बुझ्न सकिन्छ । साथै, बच्चाले गेममा भेट्ने पात्र, अन्य खेलाडी र अनलाइन गतिविधिबारे सामान्य कुराकानी गर्दा उनीहरूलाई सुरक्षित व्यवहार सिकाउन पनि सहज हुन्छ ।
४. अनलाइन जोखिमबारे सचेत बनाउने
गेम खेल्ने क्रममा अपरिचित व्यक्तिसँग सम्पर्क हुन सक्ने भएकाले बालबालिकालाई अनलाइन सुरक्षाका आधारभूत नियम सिकाउनु आवश्यक छ । नाम, ठेगाना, फोन नम्बर, विद्यालय वा अन्य व्यक्तिगत विवरण अपरिचित व्यक्तिलाई नदिने, शंकास्पद लिंक नखोल्ने र असहज वा अनुपयुक्त सामाग्री देखिएमा त्यसबाट बाहिर निस्कनेजस्ता व्यवहार सिकाउनुपर्छ ।
त्यस्तै, कसैले अनलाइनमा जिस्क्याउने, धम्क्याउने वा दुर्व्यवहार गर्ने अवस्था आए त्यसलाई लुकाएर नराखी अभिभावकलाई बताउन प्रोत्साहित गर्नुपर्छ ।
५. खुला संवादको वातावरण बनाउने
बालबालिकाले अनलाइनमा भोगेका समस्या सहज रूपमा अभिभावकसँग भन्न सक्ने वातावरण बनाउनु सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो । गेम खेल्दा कसलाई भेटे, के कस्ता कुराकानी भए वा कुनै असहज घटना भयो कि भएन भन्ने विषयमा नियमित रूपमा कुराकानी गर्न सकिन्छ ।
बच्चाले समस्या सुनाउँदा तत्काल गाली वा दोष लगाउनुको सट्टा समाधान खोज्न सहयोग गरेमा उनीहरू भविष्यमा पनि समस्या लुकाउने सम्भावना कम हुन्छ । अनलाइन धम्की, साइबरबुलिङ वा शंकास्पद गतिविधि देखिएमा त्यसको प्रतिक्रिया कसरी दिने भन्नेबारे पनि अभिभावकले बालबालिकालाई उमेरअनुकूल ढंगले सिकाउनुपर्छ ।
बालबालिकालाई अनलाइन गेमबाट पूर्ण रूपमा टाढा राख्नुभन्दा समयको सीमा, उमेरअनुकूल सामाग्री, अभिभावकीय निगरानी र खुला संवाद मार्फत सुरक्षित डिजिटल बानी विकास गराउनु प्रभावकारी हुन सक्छ ।
आईसीटी समाचार