कीवर्डहरू -

आवाज आफ्नै आफन्तको जस्तो सुनिन्छ ? एआई ठगीको यस्तो संकेत चिन्नुहोस्

आवाज आफ्नै आफन्तको जस्तो सुनिन्छ ? एआई ठगीको यस्तो संकेत चिन्नुहोस्

काठमाडौं । फोनमा परिचित आवाज सुनिँदैमा त्यो व्यक्ति वास्तविक नै हो भन्ने निश्चित नहुने भएको छ । एआईको सहायताले मानिसको आवाज नक्कल गर्न सकिने भएपछि ठगी गर्नेहरूले परिवारका सदस्य वा आफन्तकै आवाज बनाएर आपत्कालीन अवस्थाको नक्कली कथा सुनाउँदै पैसा असुल्ने प्रयास गर्न थालेका छन् ।

यस्तो अवस्थामा आवाज चिनेको भरमा विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ । त्यसैले साइबर सुरक्षा विज्ञहरूले परिवारका सदस्यबीच अरूलाई थाहा नहुने एउटा गोप्य शब्द, वाक्य वा ‘इनसाइड जोक’ तय गरेर राख्न सुझाव दिएका छन् ।

छोराको आवाजमा आएको आपत्कालीन फोन
अमेरिकाको न्युयोर्ककी एलिजाबेथ बेन्जले यस्तै ठगीको सामना गरेकी थिइन् । बीबीसीका अनुसार सन् २०२५ को सेप्टेम्बरमा उनलाई छोराको जस्तो सुनिने आवाजबाट फोन आएको थियो ।

फोनमा उनका १६ वर्षीय छोरा जोन रोइरहेको जस्तो सुनिन्थ्यो । उसले आफ्नो साथी मारिएको र आफू पनि खतरामा परेको बताएको थियो । त्यसपछि फोन एक अपरिचित व्यक्तिले लिएर ७ हजार ५०० अमेरिकी डलर नदिए जोनलाई मारिदिने धम्की दिएको थियो ।

आफ्नो छोरा जोखिममा परेको ठानेर एलिजाबेथ पैसा बुझाउन गाडी लिएर निस्किइन् । तर पैसा दिनुअघि उनका अर्का छोराले जोनसँग सम्पर्क गरे । त्यसपछि मात्रै वास्तविकता खुलेको थियो, जोन सुरक्षित थिए र फुटबल खेल हेरिरहेका थिए । फोनमा सुनिएको आवाज जोनको वास्तविक आवाज नभई एआईबाट तयार गरिएको नक्कली आवाज थियो ।

केही सेकेन्डको त्रास, ठूलो आर्थिक जोखिम
एआई सुरक्षा विज्ञ हानी फरिदका अनुसार आवाज नक्कल गर्ने प्रविधि यति सहज बन्दै गएको छ कि सामान्य व्यक्तिका लागि वास्तविक र कृत्रिम आवाज छुट्याउन कठिन हुन सक्छ ।

उपलब्ध तथ्यांकअनुसार सन् २०२५ मा अमेरिकामा अनलाइन ठगीबाट करिब १४८ अर्ब डलर बराबरको क्षति भएको थियो । त्यसमध्ये एआई प्रयोग भएका ठगीका घटनाबाट मात्रै ६ अर्ब डलरभन्दा बढी रकम गुमेको बताइएको छ ।

यस्तो प्रविधिले ठगलाई पीडितको भावनासँग खेल्न अझ सजिलो बनाएको छ । विशेषगरी परिवारको सदस्य दुर्घटनामा परेको, पक्राउ परेको वा तत्काल पैसाको आवश्यकता परेको जस्ता कथा बनाएर छोटो समयमा निर्णय गराउन खोजिन्छ ।

‘कोडवर्ड’ले कसरी जोगाउन सक्छ ?
विज्ञहरूको सुझाव सरल छ, परिवारले पहिल्यै एउटा गोप्य शब्द तय गर्ने । त्यो शब्द परिवारबाहिरका व्यक्तिलाई थाहा नहुने हुनुपर्छ । संकटको फोन आएमा आवाज परिचित लागेपनि तुरुन्त पैसा पठाउनुको सट्टा उक्त व्यक्तिसँग गोप्य शब्द सोध्न सकिन्छ । सही व्यक्ति भएको अवस्थामा उसले त्यो शब्द थाहा पाउने सम्भावना हुन्छ ।

तर, एलिजाबेथको घटनाले अर्को महत्वपूर्ण पक्षसमेत देखाएको छ । उनको परिवारमा कोडवर्ड भएपनि त्रासका कारण उनले त्यसबेला सम्झिन र सोध्न सकिनन् । त्यसैले सुरक्षा उपाय बनाउनु मात्र पर्याप्त नहुने र आपत्कालीन अवस्थामा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने अभ्यास पनि आवश्यक हुने विज्ञहरूको भनाइ छ ।

ठगीको संकेत कसरी पहिचान गर्ने ?
स्क्याम सेफ्टी एड्भोकेट गेरी शिल्डहर्नका अनुसार एआई आवाज ठगीसहितका यस्ता घटनामा केही सामान्य संकेत देखिन्छन् ।

पहिलो- अत्यधिक हतार गराउने । ठगले पीडितलाई सोच्ने वा अरूसँग सल्लाह गर्ने समय नदिने गरी तत्काल निर्णय लिन दबाब दिन सक्छन् ।

दोस्रो- ट्र्याक गर्न कठिन हुने माध्यमबाट रकम माग्ने । बिटक्वाइन, गिफ्ट कार्ड वा नगदजस्ता माध्यमबाट पैसा पठाउन दबाब दिनु शंकाको संकेत हुन सक्छ ।

तेस्रो- अरूसँग सम्पर्क गर्न रोक्ने । परिवारका अन्य सदस्य, प्रहरी वा विश्वासिलो व्यक्तिसँग कुरा नगर्न भनिएमा अझ बढी सतर्क हुनुपर्छ ।

यस्ता संकेत देखिएमा फोनमा भनिएको कुरालाई तत्काल सत्य मानेर पैसा पठाउनुको सट्टा अर्को माध्यमबाट सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर वास्तविकता पुष्टि गर्न सकिन्छ ।

कोडवर्ड बनाएर मात्र पुग्दैन
विज्ञहरूले परिवारले केही महिनाको अन्तरालमा यस्ता सम्भावित ठगीका विषयमा छलफल गर्नुपर्ने बताएका छन् । गोप्य शब्द के हो भन्ने सम्झनुका साथै आपत्कालीन फोन आएमा पैसा नपठाई पहिले पहिचान पुष्टि गर्ने बानी बसाल्नुपर्ने उनीहरूको सुझाव छ ।

एआईले आवाज नक्कल गर्ने क्षमता थप परिष्कृत गर्दै जाँदा ‘आवाज चिनियो, त्यसैले व्यक्ति वास्तविक हो’ भन्ने सोच पर्याप्त नहुन सक्छ । परिवारभित्रको गोप्य कोडवर्ड, अर्को माध्यमबाट पहिचान पुष्टि गर्ने अभ्यास र हतारमा निर्णय नगर्ने बानीले यस्ता ठगीबाट जोगिन सहयोग गर्न सक्छ ।