काठमाडौं । इन्टरनेटको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताका व्यक्तिगत जानकारी पनि विभिन्न डिजिटल प्लेटफर्ममा संकलित भइरहेका छन् । हामीले गुगलमा के खोज्छौँ, युट्युबमा कस्ता भिडियो हेर्छौँ वा कुन वेबसाइट प्रयोग गर्छौँ भन्ने विवरण प्रविधि कम्पनीहरूले संकलन गर्ने गर्छन् । कतिपय अवस्थामा लोकेसन तथा अनलाइन गतिविधिसम्बन्धी जानकारी समेत रेकर्ड हुने गर्दछ ।
यस्ता विवरणको प्रयोग कम्पनीहरूले प्रयोगकर्ताको रुचि र व्यवहार बुझ्न तथा सोहीअनुसार लक्षित विज्ञापन देखाउन गर्ने गर्छन् । यसले प्रयोगकर्ताको गोपनीयताबारे प्रश्न समेत उठाउने गरेको छ । त्यसो भए इन्टरनेटमा रहेका आफ्ना सबै व्यक्तिगत जानकारी मेटाउन सम्भव छ त ?
इन्टरनेटमा एकपटक राखिएका सबै विवरण पूर्ण रूपमा हटाउन सजिलो हुँदैन । विभिन्न वेबसाइट, सामाजिक सञ्जाल तथा तेस्रो पक्षका सेवामा सुरक्षित भएका डेटा प्रयोगकर्ताको नियन्त्रणबाहिर पनि हुन सक्छन् । तर, गुगलजस्ता प्लेटफर्ममा संकलित आफ्ना गतिविधिको विवरण हेर्न, मेटाउन र भविष्यमा थप डेटा संकलन हुने प्रक्रिया सीमित गर्न भने सकिन्छ । यसका लागि केही महत्त्वपूर्ण सेटिङ परिवर्तन गर्न सकिन्छ ।
१. गुगल एक्टिभिटीबाट पुराना विवरण मेटाउनुहोस्
सबैभन्दा पहिले myactivity.google.com मा जानुहोस् । त्यहाँ आफ्नो गुगल अकाउन्टसँग जोडिएका सर्च हिस्ट्री, युट्युब गतिविधि तथा अन्य विवरण हेर्न सकिन्छ । त्यसपछि ‘Delete Activity By’ विकल्पमा गएर ‘All Time’ छनोट गरी उपलब्ध गतिविधि मेटाउन सक्नुहुन्छ । यसरी मेटाउँदा गुगल अकाउन्टमा सुरक्षित भएका सम्बन्धित गतिविधि हटाउन मद्दत पुग्छ ।
२. नयाँ डेटा संकलन सीमित गर्नुहोस्
पुराना विवरण मेटाउनुका साथै भविष्यमा संकलन हुने गतिविधि पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि गुगल अकाउन्टको ‘Activity Controls’मा जानुहोस् । त्यहाँ उपलब्ध ‘Web & App Activity’, ‘Location History’ र ‘YouTube History’ जस्ता विकल्पहरू आवश्यकता अनुसार बन्द गर्न सकिन्छ ।
यसो गर्दा गुगलले सम्बन्धित सेटिङअन्तर्गतका गतिविधि अकाउन्टमा सुरक्षित गर्ने प्रक्रिया रोक्न वा सीमित गर्न सक्छ । तर, यसले सबै प्रकारको लोकेसन वा अनलाइन ट्र्याकिङ पूर्ण रूपमा बन्द गर्छ भन्ने हुँदैन ।
३. विज्ञापनसम्बन्धी सेटिङ नियन्त्रण गर्नुहोस्
गुगल अकाउन्टको ‘Data & Privacy’ खण्डमा गएर विज्ञापनसम्बन्धी सेटिङ जाँच गर्न सकिन्छ। उपलब्ध विकल्पअनुसार व्यक्तिगत रुचिमा आधारित विज्ञापन नियन्त्रण वा बन्द गर्न सकिन्छ । यसले लक्षित विज्ञापनको व्यक्तिगतकरण घटाउन मद्दत गर्छ । तर, विज्ञापन नै देखिन बन्द हुन्छ भन्ने होइन ।
४. अटो डिलिट सुविधा प्रयोग गर्नुहोस्
गुगलमा गतिविधि विवरण बारम्बार आफैँ मेट्नुपर्ने झन्झट कम गर्न ‘Auto Delete’ सुविधा उपयोगी हुन सक्छ । यस विकल्पमार्फत उपलब्ध अवधिअनुसार पुराना गतिविधि स्वत: मेटिने गरी सेट गर्न सकिन्छ । केही गतिविधिका लागि ३, १८ वा ३६ महिनापछि स्वत: मेटिने विकल्प उपलब्ध हुन्छन् ।
५. आफ्नो डिभाइस र अनलाइन अकाउन्ट सुरक्षित राख्नुहोस्
व्यक्तिगत डेटा सुरक्षित राख्न डिभाइसको सफ्टवेयर नियमित रूपमा अपडेट गर्नुहोस् । बलियो र फरक–फरक पासवर्ड प्रयोग गर्नुका साथै सम्भव भएसम्म दुई तहको प्रमाणीकरण (Two-factor Authentication) सक्रिय राख्नुहोस् ।
त्यस्तै, अपरिचित वेबसाइटमा व्यक्तिगत विवरण राख्ने, शंकास्पद लिंक खोल्ने तथा अनावश्यक एपलाई लोकेसन, क्यामेरा वा माइक्रोफोनको पहुँच दिने कामबाट बच्नुहोस् । आवश्यकताअनुसार ब्राउजरको प्राइभेसी सेटिङ र कुकीसम्बन्धी विकल्प पनि जाँच गर्नु उपयुक्त हुन्छ ।
इन्टरनेटमा रहेका सबै व्यक्तिगत विवरण एकैपटक मेटाउन सम्भव नहुन सक्छ । तर, गुगल अकाउन्टका गतिविधि नियन्त्रण गर्ने, पुराना विवरण हटाउने र डिजिटल सुरक्षामा ध्यान दिने हो भने आफ्नो अनलाइन गोपनीयता धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ ।
आईसीटी समाचार