कीवर्डहरू -

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ शीर्षकको खुला राष्ट्रिय अभियान अघि बढाइएको छ ।

अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, प्रवासी नेपालीको ज्ञान, सीप तथा अनुभव र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर बहस अघि बढाउने लक्ष्य राखेको छ ।

अभियानका संयोजक सौरभ राज पन्तले नेपालका राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन-जी युवा पुस्ता, प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् ।

“नेपालको भविष्यका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक छ । हाम्रो भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र एआईले ल्याइरहेको परिवर्तनलाई बुझ्दै सबै पक्षलाई साझा संवादमा जोड्नुपर्छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर तथ्य, अनुभव र विविध दृष्टिकोणका आधारमा नेपालको साझा बाटो खोज्नु नै यस अभियानको मूल उद्देश्य हो,” संयोजक पन्तले भने ।

अभियानले एआई र प्रविधिको उपयोगलाई शिक्षा, रोजगारी, सुशासन, सार्वजनिक सेवा तथा समावेशी विकाससँग जोडेर हेर्नेछ । साथै, नेपालको स्वतन्त्र निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन हितलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकासका प्राथमिकताबारे रचनात्मक बहस अघि बढाइनेछ ।

कुनै एक राजनीतिक दल, क्षेत्र वा समुदायमा सीमित नरहने यस अभियानले नेपालको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै तथ्यमा आधारित संवाद, फरक विचारप्रति खुलापन र रचनात्मक सहकार्यमार्फत साझा राष्ट्रिय समझदारी निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

आगामी दिनमा विभिन्न सरोकारवालासँग संवाद तथा विचार आदानप्रदानका पहलमार्फत नेपालको दीर्घकालीन राष्ट्रिय हित, प्रविधिमैत्री विकास र साझा भविष्यका लागि व्यावहारिक विकल्प पहिचान गर्ने अभियानको लक्ष्य छ ।