कीवर्डहरू -

जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्षको आग्रह

जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्षको आग्रह

काठमाडौं । नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको विकासका लागि लगानी, आधुनिक प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्य गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा ट्रेड सो २०२६ मा सहभागी हुन क्यानडा पुगेका अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजना निर्माण, बाँध इन्जिनियरिङ, सुरक्षा र जलवायु उत्थानशील पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका हुन् ।

क्यानडासँग बाँध निर्माण, जलाशय व्यवस्थापन र जलविद्युत् प्रविधिमा रहेको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो । नेपालमा सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणका लागि दुवै देशबीच दीर्घकालीन साझेदारीको अवसर रहेको उनले बताए ।

डाँगीका अनुसार नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ । यसमध्ये ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रबाट विकास भएका आयोजनाको रहेको छ । सन् २००१ मा स्थापना भएको इप्पानले निजी लगानी प्रवद्र्धन गर्दै नेपालको ऊर्जा क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको उनले उल्लेख गरे ।

जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलन तथा अन्य अध्ययनलाई उद्धृत गर्दै उनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताए । नदी प्रवाही, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकास गर्न सके नेपाल दक्षिण एसियामा स्वच्छ ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको डाँगीले बताए । यसका लागि निजी क्षेत्रको लगानीसँगै अन्तर्राष्ट्रिय वित्तीय संस्था, लगानीकर्ता र प्रविधि प्रदायकको भूमिका महत्त्वपूर्ण हुने उनले औँल्याए ।

उनका अनुसार नेपालले आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । प्रसारण लाइन, उत्पादन आयोजना र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकास गर्दै नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य अघि सारेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि सम्भावना बोकेका आयोजनामा तमोर जलाशययुक्त आयोजना (७६२ मेगावाट), दूधकोशी जलाशययुक्त आयोजना (६७० मेगावाट), बूढीगण्डकी जलाशययुक्त आयोजना (१२०० मेगावाट) र माथिल्लो अरुण आयोजना (१०६० मेगावाट) रहेका छन् ।

यी आयोजनासहित विकासका विभिन्न चरणमा रहेका परियोजनामा लगानी, वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको डाँगीले बताए ।

नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गर्दै उनले जलविद्युत् क्षेत्रले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्‍याइरहेको बताए । क्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्न सके नेपाल दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोत बन्न सक्ने उनको धारणा थियो ।

डाँगीले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आह्वान गरे ।

क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् ‘परिवर्तनका लहरहरू’ भन्ने मूल नारासहित आयोजना गरेको सम्मेलनले बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकाससम्बन्धी ज्ञान, अनुभव तथा प्रविधि आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

सम्मेलनमा इप्पानको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त पाठ र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ ।