काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकाससँगै नेपालले यसबाट कसरी लाभ लिन सक्छ भन्ने विषयमा छलफल गर्न काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ । आगामी कात्तिक २१ गते हुने सम्मेलनमा एआई प्रविधिको सम्भावना, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति उत्पादन र नीतिगत व्यवस्थाबारे विज्ञहरूले विचार आदानप्रदान गर्नेछन् ।
डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ को यस वर्षको मूल नारा ‘फ्रम प्रमिस टु प्रोग्रेस: अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ रहेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत प्रविधि विज्ञ, अनुसन्धानकर्ता, उद्यमी तथा नीति निर्माताको सहभागिता रहनेछ ।
सम्मेलनमा नेपालमै विकास गरिएका एआई प्रविधि र परियोजनालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । ‘मेड इन नेपाल’ शीर्षकको विशेष सत्रमा नेपाली अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ताले आफ्ना आविष्कार, तिनको व्यावहारिक उपयोग र भविष्यमा विस्तार गर्न सकिने सम्भावनाबारे जानकारी दिनेछन् ।
सम्मेलनमार्फत नीतिगत बहसलाई व्यवहारमा उतार्ने र नेपालकै एआई क्षमता विकासका लागि आवश्यक बाटो पहिचान गर्ने लक्ष्य राखिएको छ । डिजिटल मिडिया फाउन्डेसनले सन् २०२४ देखि राष्ट्रिय एआई सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा सहभागी हुन इच्छुकले आयोजकको वेबसाइट aism26.dmf.org.np मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
आईसीटी समाचार