कीवर्डहरू -

एआईकै कारण संकटमा गुगल, एकैदिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुम्यो

एआईकै कारण संकटमा गुगल, एकैदिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुम्यो

काठमाडौं । प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रतिस्पर्धा तीव्र बन्दै जाँदा गुगलको मूल कम्पनी अल्फाबेट आर्थिक दबाबमा परेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ताको विश्वास कमजोर हुँदा बिहीबार अल्फाबेटको बजार मूल्य एकैदिन ५०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।

कम्पनीको सेयर मूल्य पछिल्लो ६ महिनायताकै न्यून बिन्दुमा झरेपछि यो गिरावट आएको हो । विशेष गरी गुगलको सर्च इन्जिनमा एआईबाट तयार पारिने सारांशले परम्परागत विज्ञापन व्यवसायको आम्दानी घटाउन सक्ने संकेतले लगानीकर्तालाई चिन्तित बनाएको छ ।

अल्फाबेटको आम्दानी भने बढिरहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल आम्दानी २५ प्रतिशतले वृद्धि हुँदै १२७ अर्ब ६० करोड डलर पुगेको छ । गुगल क्लाउड व्यवसायले पनि उल्लेख्य प्रगति गरेको छ । यसको आम्दानी १०३ प्रतिशतले बढेर करिब ३१ अर्ब डलर पुगेको कम्पनीले जनाएको छ ।

तर, आम्दानीमा सुधार देखिए पनि नाफामा भने २५ प्रतिशत गिरावट आएको छ । त्यस्तै, कम्पनीको स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) ९ अर्ब डलरभन्दा बढी ऋणात्मक बनेको छ । सार्वजनिक कम्पनी बनेपछि अल्फाबेटले यस्तो अवस्था भोगेको यो दोस्रोपटक हो ।

एआई प्रविधिको विकास र विस्तारमा भइरहेको ठूलो खर्चले कम्पनीको वित्तीय अवस्थामाथि दबाब बढाएको विश्लेषण गरिएको छ । अझ गुगलको प्रमुख आम्दानीको स्रोत सर्च इन्जिनमै एआईको प्रभाव देखिन थालेपछि भविष्यमा विज्ञापनबाट हुने आम्दानी कस्तो रहने भन्ने प्रश्न उठेको छ ।

यसै साता माइक्रोसफ्ट र अमेजनले पनि आफ्ना वित्तीय विवरण सार्वजनिक गरेका थिए । तीनवटै प्रविधि कम्पनीले एआई प्रविधिमा ठूलो लगानी गर्ने योजना अघि सारेका छन् । तर, यस्तो लगानीले मुख्य व्यवसायको आम्दानी र नाफामा कस्तो असर पार्छ भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ ।

विशेष गरी एआई प्रतिस्पर्धामा अगाडि बढ्ने प्रयास गर्दा कम्पनीहरूले ठूलो पुँजी खर्च गर्नुपर्ने र त्यसको प्रतिफल तत्काल नदेखिन सक्ने जोखिमले प्रविधि क्षेत्रका सेयरमा दबाब सिर्जना गरेको छ ।