काठमाडौं । कम्प्युटर तथा ल्यापटपमा काम गर्दा एउटै कामका लागि पटक–पटक माउस प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर केही उपयोगी किबोर्ड सर्टकटबारे जानकारी भए माउसको प्रयोग कम गर्दै कामलाई छिटो र सहज बनाउन सकिन्छ ।
विशेष गरी दैनिक रूपमा कम्प्युटरमा काम गर्नेहरूका लागि यस्ता सर्टकट निकै उपयोगी हुन्छन् । यहाँ विन्डोज कम्प्युटरमा प्रयोग गर्न सकिने ८ वटा उपयोगी किबोर्ड सर्टकटबारे जानकारी दिइएको छ ।
१. Windows + L : कम्प्युटर लक गर्न
केही समयका लागि कम्प्युटर छाड्नुपर्दा यो सर्टकट प्रयोग गर्न सकिन्छ । Windows र L एकैपटक थिच्दा कम्प्युटर तत्काल लक हुन्छ । यसले व्यक्तिगत फाइल तथा अन्य सामग्री सुरक्षित राख्न मद्दत गर्छ ।
२. Ctrl + Y : हटाइएको काम पुन: फर्काउन
काम गर्ने क्रममा गल्तीले कुनै सामाग्री हट्यो वा परिवर्तन भयो भने Ctrl + Z प्रयोग गरेर Undo गर्न सकिन्छ । तर त्यसलाई पुन: पहिलेकै अवस्थामा फर्काउन Ctrl + Y थिच्नुपर्छ ।
३. Shift + Insert : सामाग्री पेस्ट गर्न
कुनै टेक्स्ट वा सामग्री कपी गरेपछि Ctrl + V को विकल्पका रूपमा Shift + Insert प्रयोग गर्न सकिन्छ। यसले कपी गरिएको सामग्रीलाई चाहिएको स्थानमा पेस्ट गर्छ ।
४. Ctrl + Home / Ctrl + End : सुरु र अन्त्यमा पुग्न
कुनै लामो डकुमेन्ट वा वेबपेजमा काम गरिरहनुभएको छ भने Ctrl + Home थिच्दा सिधै सुरुवातमा पुगिन्छ । त्यस्तै, Ctrl + End थिच्दा सामग्रीको अन्तिम भागमा पुग्न सकिन्छ ।
५. Windows + D : सिधै डेस्कटपमा जान
एकैपटक धेरै विन्डो तथा प्रोग्राम खोलिएका छन् भने Windows + D थिचेर सबैलाई मिनिमाइज गर्दै डेस्कटप देखाउन सकिन्छ । फेरि यही सर्टकट थिच्दा पहिले खोलिएका विन्डो देखिन्छन् ।
६. Alt + F4 : प्रोग्राम बन्द गर्न
कुनै प्रोग्राम वा विन्डो बन्द गर्न Alt + F4 प्रयोग गर्न सकिन्छ । डेस्कटप सक्रिय अवस्थामा यो सर्टकट थिच्दा कम्प्युटर बन्द गर्ने विकल्प समेत देखिन्छ ।
७. Alt + Tab : खुला प्रोग्रामबीच जान
एकैपटक धेरै प्रोग्राममा काम गरिरहनुभएको छ भने माउस प्रयोग नगरी Alt + Tab थिचेर एउटा प्रोग्रामबाट अर्कोमा जान सकिन्छ । यसले काम गर्ने गति बढाउन मद्दत गर्छ ।
८. Ctrl + Insert : सामाग्री कपी गर्न
कुनै टेक्स्ट वा सामग्री कपी गर्न सामान्यतया Ctrl + C प्रयोग गरिन्छ । तर यसको विकल्पका रूपमा Ctrl + Insert पनि प्रयोग गर्न सकिन्छ । यसले चयन गरिएको सामाग्री कपी गर्छ ।
यी सामान्य देखिने किबोर्ड सर्टकटले दैनिक कम्प्युटर प्रयोगलाई सहज बनाउनुका साथै अनावश्यक समय खर्च हुनबाट जोगाउँछन् । नियमित अभ्यास गरेमा काम गर्ने गति र उत्पादकता दुवै बढाउन सकिन्छ ।
आईसीटी समाचार