काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा ह्याकिङ भएको आशंकापछि करिब ३ अर्ब अमेरिकी डलर बराबरका क्रिप्टो सम्पत्ति रोक्का गरिएको छ । चोरी भएका डिजिटल सम्पत्ति अन्यत्र सारिन नदिन बाइनान्ससहित विभिन्न क्रिप्टो कम्पनीले उक्त कदम चालेका हुन् ।
बाइनान्सले बिहीबार आफ्नो प्रणालीमा सुरक्षा कमजोरी देखिएको आशंकामा अनुसन्धान भइरहेको जनाएको थियो । घटनापछि स्टेबलक्वाइन जारी गर्ने कम्पनी टेथर र सर्कलले पनि शंकास्पद सम्पत्ति रोक्का गरेका छन् ।
बाइनान्सकी सहसंस्थापक यी हेले घटनाबाट भएको सम्पूर्ण क्षतिको जिम्मेवारी कम्पनीले लिने बताएकी छन् । तर कति रकम चोरी भएको हो र ह्याक कसरी भएको हो भन्नेबारे अझै खुलाइएको छैन ।
हालसम्म टेथरले १ अर्ब ५७ करोड डलर, सर्कलले ८० करोड डलरभन्दा बढी र रिपलले करिब २० करोड डलर बराबरका सम्पत्ति रोक्का गरेका छन् । चोरी भएका सम्पत्ति पत्ता लगाउन बाइनान्सले प्रहरी, टोकन जारी गर्ने कम्पनी र ब्लकचेन अनुसन्धान संस्थासँग सहकार्य गरिरहेको छ ।
ब्लकचेन अनुसन्धान संस्था आर्कह्यामका प्रमुख मिगुएल मोरेलले उपलब्ध तथ्यांकले बाइनान्सबाट अर्बौं डलर बराबरका क्रिप्टो सम्पत्ति चोरी भएको संकेत गरेको बताएका छन् । यद्यपि, घटनाको वास्तविक कारण र चोरी भएको कुल रकम पुष्टि हुन बाँकी छ ।
सुरक्षा जाँच पूरा नहुँदासम्म बाइनान्सले प्रयोगकर्तालाई रकम झिक्न रोक लगाएको छ । कम्पनीले भने प्रयोगकर्ताको सम्पत्ति सुरक्षित रहेको दाबी गरेको छ । सावधानीका लागि बाइनान्स अल्फा प्लेटफर्मको कारोबार समेत अस्थायी रूपमा बन्द गरिएको छ ।
ह्याकिङको खबर सार्वजनिक भएपछि क्रिप्टो बजारमा गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब २ प्रतिशत घटेर ७७ हजार ६४६ डलरमा झरेको छ भने इथेरियम पनि २ प्रतिशत घटेर २ हजार २३८ डलरमा कारोबार भएको छ । बाइनान्सको बीएनबी टोकनको मूल्य भने २४ घण्टामा ८ प्रतिशतभन्दा बढीले घटेको छ । यसैबीच, बाइनान्स यूएसले आफू घटनाबाट प्रभावित नभएको जनाएको छ ।
आईसीटी समाचार