काठमाडौं । गुगलले आफ्नो एआई सेवा जेमिनी स्पार्कलाई गुगल फोटोजसँग जोड्दै फोटो व्यवस्थापनका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत प्रयोगकर्ताले जेमिनी स्पार्कको सहयोगमा गुगल फोटोजमा विभिन्न काम सहज रूपमा गर्न सक्नेछन् ।
अब प्रयोगकर्ताले जेमिनी स्पार्कमार्फत फोटो सम्पादन गर्ने, फोटोको एल्बम तयार गर्ने, एल्बम तथा फोटो सेयर गर्ने लगायतका विभिन्न काम गर्न सक्नेछन् । यसका साथै फोटो व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य पनि जेमिनी स्पार्कले प्रयोगकर्ताको निर्देशनअनुसार गर्न सक्नेछ ।
गुगलका अनुसार यो सुविधा आगामी केही हप्ताभित्र अमेरिकामा अंग्रेजी भाषा प्रयोग गर्ने योग्य जेमिनी एआई प्रो र अल्ट्रा सब्सक्राइबरहरूका लागि उपलब्ध गराइनेछ । यद्यपि, यो सुविधा अमेरिकाबाहिरका अन्य अन्तर्राष्ट्रिय बजारमा कहिले उपलब्ध हुनेछ वा हुने छैन भन्ने विषयमा गुगलले हालसम्म स्पष्ट जानकारी दिएको छैन ।
गुगलले प्रयोगकर्ताका लागि एआईलाई अझ उपयोगी बनाउने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ । विशेष गरी ठूलो संख्यामा फोटो भएका प्रयोगकर्तालाई फोटो व्यवस्थापनमा लाग्ने समय र झन्झट कम गर्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कसरी प्रयोग गर्ने ?
गुगल फोटोजसँग जेमिनी स्पार्क प्रयोग गर्नका लागि सुरुमा गुगल फोटोजलाई जेमिनीसँग जोड्नुपर्नेछ । त्यसपछि जेमिनी एपको माथिल्लो कुनामा रहेको स्पार्क विकल्प सक्रिय गरी आफूले गर्न चाहेको कामबारे निर्देशन दिन सकिनेछ ।
प्रयोगकर्ताको निर्देशनअनुसार जेमिनी स्पार्कले गुगल फोटोजमा सम्बन्धित काम पूरा गर्नेछ ।
आईसीटी समाचार